राजनीति

एमाले नेताको दाबी: सहकारी ठगलाई कारबाही गरिएको हो, रास्वपा सक्न खोजेको होइन

नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले सहकारी ठगलाई कारबाही गर्न खोज्दा गलत प्रचार भएको बताएका छन्। बिहीबार प्रेस चौतारी ललितपुरको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन्। 

‘जो जो सहकारी अनियमिततामा संलग्न छन्, उनीहरूलाई बिन मोलाहिजा कारबाही अगाडि बढाइएको छ,’ ज्ञवालीले भने, ‘बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूले एउटा भाष्य निर्माण गर्ने कोसिस गर्नुभयो, कि यो त रास्वपालाई निषेध गर्न, रास्वपालाई सिद्ध्याउन प्रायोजित गरिएको छ भनेर।’ यसो भनिरहँदा रास्वपाका नेताले वास्तविक तथ्यलाई ढाकछोप गरेको उनले बताए । 

‘रवि लामिछानेजीसँगै कतिपय नेकपा एमालेका मान्छे पनि परेका छन्, कतिपय कांग्रेसका पनि परेका छन्,’ ज्ञवालीले भने। जुन औला विष लाग्छ, त्यही औला काट्नुपर्ने उनले बताए। उनले भने, ‘हामीले कसैको मुख हेर्नुपर्ने जरुरी छैन। गल्ती गरिएको छैन भने डराउनुपर्ने कारणै छैन।’ 

सरकारले सहकारी क्षेत्रको बेथितिलाई सम्बोधन गर्ने प्रयास गरिरहेको पनि ज्ञवालीले बताए। यस क्रममा सरकारले हालसम्म १४ हजार बचतकर्ताहरूको फिर्ता गरेको दाबी ज्ञवालीले दाबी गरे ।

६ हजारको पूर्ण रूपले र बाँकी ८ हजारको कसैको ७५ प्रतिशत, कसैको ५० प्रतिशत फिर्ता गरेको उनले बताए। यसरी एक अर्ब ५७ करोड रकम फिर्ता भएको ज्ञवालीले सुनाए। 

प्रकाशित: १७ माघ २०८१ १४:१५ बिहीबार

#Pradeep Gyawali #Rabi Lamichhane