राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश तहमा तीन सदस्यीय कार्यदल गठन गरी सम्बन्धित प्रदेशका स्वतन्त्र जनप्रतिनिधिलाई पार्टीमा आवद्ध गराउन प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ।
सोमबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि कार्यवाहक महासचिव कविन्द्र बुर्लाकोटीले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सातै प्रदेशमा फागुन महिनाभर सर्वाङ्गीण संवाद कार्यक्रम सञ्चालन हुने जानकारी दिए।
उनका अनुसार संवाद कार्यक्रम प्रदेशका पदाधिकारीहरूको नेतृत्वमा हुनेछ। जसमा आवश्यकता अनुसार केन्द्रका नेताहरू र सांसदहरूको सहभागिता रहनेछ।
बैठकले वर्तमान सरकारको कार्यक्षमतामाथि आलोचना गर्दै संसदमा दुई तिहाई बहुमत रहेको सरकारको अक्षमता र निरीहताले सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा गरेको निष्कर्ष निकालेको छ।
विगत छ महिनामा गठबन्धन सरकारले कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको भन्दै संसदको आगामी अधिवेशनभन्दा तीन हप्ता अघि पाँचवटा अध्यादेश हतारमा ल्याएको विषयमा रास्वपाले गम्भीर आपत्ति जनाएको छ।
पार्टीले ती अध्यादेशको प्रक्रिया र नियत खोटपूर्ण रहेको भन्दै संसदमा गुण-दोषका आधारमा कडा बहस गर्ने निर्णय गरेको छ।
बैठकले पार्टीका नियमावली, २०८१ लाई संशोधन गर्दै संगठनलाई थप सुदृढ बनाउने निर्णय गरेको छ। यसैक्रममा, कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गरिएको छ।
त्यस्तै, प्रदेश समितिमा रिक्त रहेका पदाधिकारी र सदस्य पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन पनि निर्देशन दिइएको छ।
बैठकले सातै प्रदेशमा नेतृत्वका लागि विभिन्न पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ। यसका साथै, प्रदेश समितिलाई तीन सदस्यीय कार्यदल बनाएर सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई पार्टीमा आवद्ध गराउन प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ।
प्रदेश नेतृत्वको विवरण:
- सुदूरपश्चिम प्रदेश: दीपक बोहरा र प्रतिभा रावल
- कर्णाली प्रदेश: लिमा अधिकारी
- लुम्बिनी प्रदेश: विपिनकुमार आचार्य
- गण्डकी प्रदेश: शिशिर खनाल
- बागमती प्रदेश: सन्तोष परियार र वसुमाया तामाङ
- मधेस प्रदेश: विराजभक्त श्रेष्ठ र मनिष झा
- कोशी प्रदेश: सुमना श्रेष्ठ र रमेश प्रसाईं
प्रकाशित: १४ माघ २०८१ १८:१८ सोमबार