पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले पनि सक्रिय राजनीतिमै रहेको दाबी गरेकी छिन् ।
सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारीलाई पत्रकारहरूले राखेको दलीय राजनीतिमा सक्रिय हुने हो ? भन्ने प्रश्नको उत्तरमा राष्ट्रपति भण्डारीले अहिले पनि सक्रिय राजनीति मै रहेको दाबी गरेकी हुन् ।
पूर्व राष्ट्रपति भण्डारीले नेपालको शिक्षा सुधारका लागि आफू चिन्तनशिल रहेको बताइन् । उनले जनता क्याम्पसको इटहरी, विभिन्न विद्यालय तथा शैक्षिक संस्थाका कार्यक्रमहरूमा सहभागी हुन पूर्व क्षेत्रमा आएको जानकारी दिइन् । विराटनगरमा उनले एमाले नेताहरू, एमाले सम्बद्ध अखिल नेपाल महिलासंघ, विद्यार्थी संगठन लगायतसँग भेटघाट गरेकी छिन् । एमालेमा सक्रिय राजनीति गर्ने चर्चाकाबीच एमालेका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको एमाले नेताहरूले बताएका छन् ।
पूर्व राष्ट्रपति भण्डारीले दलीय राजनीतिमा आउने सङ्केतसमेत गरेकी छिन् । उनले आफू विगतमा एमालेको कार्यकर्ता भएको र एमालेबाटै राष्ट्रपतिसमेत बनेकाले राष्ट्रपति पद गैर राजनीतिक पद नभएको स्पष्ट पारिन् । उनले भनिन्‘एमालेमै राजनीति गरेको र एमालेले नै राष्ट्रपति पनि बनाएको हुनाले राष्ट्रपति पद गैर राजनीतिक पद हैन ।’
भण्डारीले दलीय राजनीतिबाट कोही पनि अछुतो नरहेको स्पष्ट पारिन् । उनले दलको पद लिने नलिने भन्नेबारेमा अहिले प्रवेश गरिसकेको छैन । उनले दलको पद लिनुपरेको अवस्थामा एमालेकै लिने आशय भने व्यक्त गरिन् । उनले भनिन् ‘एमालेबाटै आज यहाँसम्म आइपुगेका कारण अब, जाँदा त्यहीँ जाने हो । तर, अहिलेसम्म निर्णय भइसकेको छैन । त्यो समय पनि आइसकेको छैन ।’ यो समाजको चासोको विषय भएकाले एमालेको पद र जिम्मेवारी लिने चर्चा भएको हुनसक्ने उनले स्पष्ट पारिन् ।
प्रकाशित: १४ माघ २०८१ १७:०० सोमबार