तराई/मधेसकेन्द्रित दलहरूले केही दिनयता भिन्न–भिन्न मोर्चा बनाउन प्रयास गरिरहेका बेला जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव भने सत्तापक्षीय न प्रतिपक्षीय भएका छन्। मधेसमा एउटै मोर्चा या एउटै पार्टी बनाउन बोलाइएको तराई/मधेसकेन्द्रित दलहरूका बैठकहरूमा यादव सहभागी हुने गरेका छैनन्।
यादव आफैं भन्छन्, ‘हाम्रो पार्टी न सत्तापक्षीय हो न त प्रतिपक्षीय। अहिले हामी मध्यबिन्दुमा उभिएका छौं। सरकारले राम्रो काम गर्यो भने समर्थन गरेका छौं। नराम्रो काम गर्यो भने विरोध गरेका छौं।’
केन्द्रमा न सत्तापक्षीय न प्रतिप्रक्षीय भए पनि मधेस सरकारमा भने जसपा नेपाल प्रतिपक्षीय भएको उनले प्रस्ट पारे। ‘मधेस सरकारमा हामी प्रतिपक्षीय दल हौं। केन्द्रमा भने हामी मध्यबिन्दुमा छौं,’ उनले भने।
वर्तमान सरकारले राम्रो काम गरेको छ कि छैन भनी सोधिएको जिज्ञासमा उनले प्रतिपक्षीय दलका नेताले झैं अभिव्यक्ति दिए। उनले भने, ‘यो सरकारले राम्रो गरेको अनुभूति कसैले गरेका छैनन्।’
गत माघ १ गते हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीले काठमाडौंमा तराई–मधेसकेन्द्रित सबै दलको बैठक बोलाएको थियो। तराई मधेसकेन्द्रित सबै दललाई एक ठाउँमा ल्याएर मोर्चा बनाउने उद्देश्यले उक्त बैठक बोलाइएको थियो तर उक्त बैठकमा यादव सहभागी भएनन्। उनी आफैं सहभागी त भएनन्, पार्टीका तर्फबाट अरू कसैलाई पनि बैठकमा पठाएनन्। यद्यपि उक्त बैठक बहिष्कार गर्ने नीति आफ्नो दलको नभएको उनको भनाइ छ।
‘माघ १ गते बोलाइएको बैठक बहिष्कार गर्ने हाम्रो नीति थिएन। बैठकमा उपस्थिति हुन हामीले जसलाई पठाएका थियौं, त्यही व्यक्ति माघे संक्रान्ति मान्न गृहजिल्ला पुगेका रहेछन्।’ जबकि उक्त बैठकमा जसपा नेपालबाहेक तराई–मधेसकेन्द्रित सबै दलका प्रतिनिधिको उपस्थिति थियो।
आइतबार सिंहदरबारमा सत्तापक्षीय तराई–मधेसकेन्द्रित दलहरूको बैठक बोलाइएको थियो। अन्तिम समयमा उक्त बैठक रद्द गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए। त्यस बैठकमा पनि जसपा नेपाललाई बोलाइएको थिएन।
२०७९ को निर्वाचनपछि जसपा नेपाल विभाजित भई अशोक राई, इस्तियाक राईलगायत नेताहरूले जसपा निर्माण गरेपछि यतिबेला जसपा नेपाल र जसपाका नेताहरूबीच पानी बाराबारको अवस्था छ। यतिबेला जसपा सरकारमा छ, जसपाबाट दुईजना नेता नवलकिशोर साह र प्रदीप यादव सरकारमा छन्। जसपा नेपालले बाहिरबाट सरकारलाई समर्थन गरेको छ तर सरकारमा सहभागी भएको छैन।
यद्यपि सरकारलाई दिएको समर्थन अझै फिर्ता नलिएको अध्यक्ष यादवले बताए। जसपा नेपालका एक नेता भन्छन्, ‘अहिले अध्यक्षज्यू (यादव) सत्तापक्षीयभन्दा पनि प्रतिपक्षीयजस्तो देखिनुहुन्छ। यद्यपि प्रतिपक्षीय मोर्चामा पनि उहाँ सहभागी हुनुहुन्न। किनभने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चाहेको भए जसपा नेपाल विभाजन हुनबाट रोकिने थियो। त्यसैले जसपा नेपाल विभाजन हुनुमा दाहालको पनि हात छ भन्ने उहाँको बुझाइ छ।
’यादवको राजनीतिक जीवनमा दर्जनौंपटक उनको पार्टी फुटिसकेको छ भने दर्जनौंपटक उनले नयाँ पार्टीसँग एकीकरण गरिसकेका छन्। त्यसैले पार्टी फुट्न र जुट्नमा उनका लागि नयाँ कुरा होइन, यद्यपि पछिल्लो फुटमा उहाँ अलि गम्भीरजस्तो देखिनुभएको छ,’ अर्का एक नेताले भने। अहिले तराई–मधेसकेन्द्रित दलहरूको एउटै मोर्चा बन्ने सम्भावना छ कि छैन भनी सोधिएको जिज्ञासमा उनले भने, ‘एउटै मोर्चा बन्नुपर्छ। त्यो हुन्छ कि हुँदैन या कहिले हुन्छ, त्यसको ठेगान छैन।’
प्रकाशित: ७ माघ २०८१ ०७:३४ सोमबार