राजनीति

रुग्ण र म्याद गुज्रिसकेका आयोजना प्राथमिकतामा: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका रुग्ण र म्याद गुज्रिसकेका आयोजनाहरूलाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताएका छन्।

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सुरु भएको आठौं म्याग्दी महोत्सव एवं गण्डकी प्रदेशस्तरीय कृषि औद्योगिक व्यापार मेला उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले म्याग्दीमा देखिएका समस्यालाई प्राथमिकता दिएर काम गर्ने वाचा गरे। ‘निजी क्षेत्रका समस्यालाई नजिकबाट हेरिरहेको छु। मैले सक्ने सबै सहयोग गर्छु’, पूर्वप्रधानमन्त्री देउवाले भने।

जिल्लाको बेनी अस्पतालको निर्माणाधीन ५० शड्ढयाको बेनी अस्पताल भवन, बेनी–दरबाङ–मुना–ढोरपाटन सडक, बेनी–पाखापानी सडक, बेनी खुलामञ्च, बेनी–मौवाफाँट–चिमखोला र बेनी–मालढुंगा सडक निर्माणलाई अगाडि बढाउन सम्बन्धित निकायलाई दबाब दिने पूर्वप्रधानमन्त्री देउवाले वाचा गरेका थिए। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वार रहेको म्याग्दी धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको पूर्वप्रधानमन्त्री देउवाले बताए।

कांग्रेस सभापति देउवासमक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्लाका प्राथमिकता प्राप्त विकास आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा मागपत्र बुझाएका थिए। कार्यक्रममा सहभागी हुनुपूर्व सभापति देउवा जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वरको दर्शन गरेका थिए भने निर्माणाधीन बेनी अस्पताल भवनको अवलोकनसमेत गरेका थिए।

महोत्सव उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, बेनी नगरपालिकामा मेयर सुरत केसी, गण्डकी प्रदेशसभाका सदस्य रेशमबहादुर जुग्जाली, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजासहित राजनीतिक दलका प्रमुखहरूले हिमाली जिल्लाको कार्यान्वयन, समय अवधि तोकिएर पनि लामो समयसम्म अलपत्र परेका आयोजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी प्राथमिकीकरणमा राख्न संघीय सरकारले दबाब दिनुपर्ने बताए।

महोत्सवमा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यवसायीको पहिचान बनाएका गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका अध्यक्ष विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका कृषि वैज्ञानिक टीकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई बेहुलीजस्तै सिँगारिएको छ। महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिएको छ। महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघका अध्यक्ष सुविन श्रेष्ठले बताए।

महोत्सवमा विद्यालयको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागि सातवटा स्टल निःशुल्क उपलब्ध गराइएको छ। १० करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रूपैयाँ खर्च भएर पाँच लाख १० हजार ८६ रूपैयाँ बचत गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: २९ पुस २०८१ ०८:०२ सोमबार

# Nepali Congress # Chairman and former Prime Minister Sher Bahadur Deuba # Sick and expired projects # Opening of the festival