राजनीति

कांग्रेस बीपीले भन्यो- कांग्रेसमा समाहित हुनेहरू पार्टीका नेता थिएनन्

नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसमा समाहित भएका भनिएका नेताहरू पार्टीका नेता नभएको जनाएको छ।

यसअघि गत सोमबार कांग्रेस बीपीका १२ नेताहरू कांग्रेसमा समाहित भएको भनिएको थियो। तर, ती नेताहरू पार्टीका नेता नरहेको कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनले बताएका छन्।

कांग्रेसमै फर्किएका पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईले पनि गत भदौ १२ गते नै राजीनामा दिइसकेको सभापति शेरचनले बताएका छन्।

भट्टराईसँगै कांग्रेसमा समाहित भएका भनिएका अरु नेताहरू भने कोही पार्टीमै नभएका, कोही यसअघि नै पार्टीबाट हिँडिसकेका र कोहीमाथि पार्टीले कारबाही गरेको सभापति शेरचनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गत भदौमै कांग्रेस बीपी छाडिसकेका संस्थापक सभपाति हरिबोल भट्टराईलाई गत सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन्। कांग्रेसले बीपीका मूल्य-मान्यता भुलेको आरोप लगाउँदै ८ वर्ष अघि कांग्रेस बीपी गठन गरेका भट्टराई के कारणले पुन: कांग्रेसमै समाहित भए भन्नेबारे आफूसँग जवाफ नभएको सभापति शेरचनले बताए।

'त्यसबारे उहाँलाई नै थाहा होला। यद्यपि, उहाँ हाम्रो आदरणीय नेता नै हुनुहुन्छ। उहाँ पुन: कांग्रेसमै फर्किनु अनपेक्षित हो,' सभापति शेरचनले नागरिकसँग भने, 'यसबारे थप जवाफ मसँग छैन।'

विज्ञप्ति हेर्नुस्-

प्रकाशित: २४ पुस २०८१ १५:४७ बुधबार

#nepalicongressBP