राजनीति

कांग्रेसको १०० दिने अभियान: नसकिएका जिल्लालाई थप एक महिना समय

नेपाली कांग्रेसले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई माघ १६ गतेसम्मको थप समय दिएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको वक्तव्यमा प्राकृतिक प्रकोप र उप निर्वाचनका कारण केही जिल्लामा काम सकिन बाँकी रहेकाले त्यस्ता जिल्लामा माघ १६ गतेसम्मको समय प्रदान गरेको उल्लेख छ । 

‘केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा ‘१०० दिने विशेष अभियान’ को तोकिएका कार्य सम्पादन हुन सकेका छैनन्,’ वक्तव्यमा भनिएको छ, ‘ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्ने गरी समयावधि थप गरिएको छ ।’ 

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्धलाई थप अवधिमा साङ्गठनिक रूपले गर्न÷गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन निर्देशानुसार वक्तव्यमार्फत सूचित गरिएको छ । 

श्रावण २३ देखि भाद्र १६ सम्म बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले साङ्गठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ गतेदेखि  पौष १६ सम्म १०० दिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । 

प्रकाशित: ११ पुस २०८१ १३:४९ बिहीबार

#NepaliCongress #100 Dine Abhiyan