राजनीति

संविधान संशोधनको विषय उठ्दा 'रेस्पोन्ड' गर्न माओवादीले छान्यो यी तीन एजेन्डा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) मा संविधान संशोधनबारे छलफल सुरु भएको छ ।

बिहीबार (आज) बसेको पदाधिकारी बैठकमा संविधान संशोधनको विषय आउँदा कसरी त्यसको 'रेस्पोन्ड' गर्ने भन्नेबारे छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

संविधान संशोधनको विषय आउँदा मुख्य गरी तीन एजेन्डामा ध्यान दिनुपर्ने सुझाव माओवादी नेताहरूले दिएका छन् । सुझाव पेस गरिएका विषयहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री बन्न नपाइने भन्ने विषय छन् ।

त्यसो त माओवादीको यो एजेन्डा नयाँ भने होइन । माओवादीले संविधान सभामा पनि यही विषय उठाएको थियो । तर, त्यतिबेला 'कम्प्रमाइज' गरेर अगाडि बढेको माओवादीले १० वर्षपछि पुन: यही एजेन्डा ब्युँताउने भएको हो ।

उपमहासचिव हरिबोल गजुरेल सरकारले संविधान संशोधनको विषय अगाडि बढाउँदा आफूहरूले मुख्य रूपमा यही विषय उठाउने बताउँछन् । यसलाई मंसिर २७ गते बस्ने स्थायी समिति बैठक र पुस २ गते बस्ने केन्द्रीय समिति बैठकले निष्कर्षमा पुर्‍याउने उनले बताएका छन् ।

सरकारले संविधान संशोधनको मुद्दालाई अगाडि बढाउने तयारी गरेको बताइएको छ । सरकार गठनपूर्व नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सातबुँदे समझदारीमा मुख्य बुँदाका रूपमा संविधान संशोधन नै थियो ।

प्रकाशित: २० मंसिर २०८१ २१:१० बिहीबार

#pushpakamaldahal