राजनीति

पार्टी अध्यक्ष र महासचिवको मानहानी गरेको आरोपमा बाँकेका एमाले नेता निलम्बित

नेकपा (एमाले)ले बाँकेले पार्टीका पूर्वप्रदेश उपसचिव तथा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई सदस्यबाट निलम्बन गरेको छ।

बाँके १ (खं) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन्।लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए।

केन्द्रीय अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको मानहानी गरेको आरोपमा एमाले बाँके जिल्ला कमिटीले उनलाई पार्टीको सदस्यबाट निलम्बन गरेको पत्र थमाएको हो।

त्यसको बोधार्थ जिल्ला कमिटिले प्रदेश र केन्द्रीय कमिटीलाई पठाएको छ। बाँके जिल्ला अध्यक्ष निरक गुरूङद्वारा जारी विज्ञप्तिमा पटक पटक सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि चौधरीलाई निलम्बन गरिएको उल्लेख गरेका छन्।

गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्याउने मनशायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो।स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु।’

आफ्नो निलम्बनबारे आश्चर्य व्यक्त गर्दै चौधरीले आफूलाई निलम्बन गर्ने अधिकार जिल्लालाई नरहेको बताए।उनले अहिले आफू अरु प्रकृयामा नजाने तर सबै विषय प्रदेश कमिटीमा राख्ने बताए।

प्रकाशित: ११ मंसिर २०८१ १९:०२ मंगलबार

#CPN (UML) Banke #Chairman KP Sharma Oli #Durga Chaudhary