राजनीति

श्रीलंकाको राजदूतमा नेपाली सिफारिश, पूर्व मूख्यसचिव अर्यालको राजीनामा स्वीकृत

सरकारले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो। नेपाली काठमाडौं विश्वविद्यालयमा अध्यापनरत छन्।

यसैगरी, बैठकले पूर्व मूख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ। राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको जिम्मेवारी तोकिएका अर्यालले गत आइतबार राजीनामा दिएका थिए। 

भ्रष्टाचार मुद्दामा मुछिएपछि अर्याललाई सरकारले मूख्यसचिवको जिम्मेवारीबाट हटाएर योजना आयोगमा पठाएको थियो। विशेष अदालतबाट सफाइ पाए लगत्तै अर्यालले राजनीमा दिएका थिए। उनको राजीनामालाई स्वीकृत गरिएको एक मन्त्रीले बताए। 

त्यस्तै मन्त्रिपरिषद्को  बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा  डा सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। कांग्रेस निकट रहेका आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन्।आयोगको सूचना आयुक्तमा सरकारले गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ। दुवै जना एमाले समर्थक हुन्।  

प्रकाशित: ७ मंसिर २०८१ ०७:४५ शुक्रबार

#Cabinet