राजनीति

एमाले ताप्लेजुङले सक्यो ८ पालिका कमिटीको अधिबेशन, ५ मा सर्वसम्मत नेतृत्व चयन

पालिका अधिबेशन अन्र्तगत पाथीभरा याङवरक गाउँपालिकाका कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बैठक पुस्तिक हस्तान्तरण गर्दै जिल्ला कमिटीका पदाधिकारी तथा पालिका इञ्चनार्ज ।

पालिका तथा वडा अधिबेशनमा केन्द्रित रहेको एमाले ताप्लेजुङले पालिका अन्र्तगत अब आठराई त्रिबेणीमा मात्र अधिबेशन सम्पन्न गर्न बाँकी रहेको जनाएको छ। 

फुङलिङ नगरपालिका र ७ वटा गाउँपालिका कमिटीको अधिबेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको एमाले ताप्लेजुङका सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए। वडा अधिबेशन भने धमाधम भइरहेको र अधिबेशन सकिन केहि समय लाग्ने उनले जानकारी दिए।

चाम्लिङका अनुसार फुङलिङ नगरपालिका,सिरिजङ्गा गाउँपालिका,मेरिङदेन गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका,फक्ताङलुङ गाउँपालिका र मैवाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकाको अधिबेशन सकिएको छ। ५ वटा पालिका कमिटीमा सर्वसम्मत नेतृत्व चयन भए भने फुङलिङ नगरपालिका,सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको एमाले ताप्लेजुङले जनाएको छ। 

सोमवारमात्र अधिबेशनमार्फत नेतृत्व चयन भएको मिक्वाखोला गाउँपालिकामा गजेन्द्र थलङ अध्यक्ष रहेको कमिटी गठन गरिएको छ। मंसिर १ गते सर्वसम्मत नयाँ नेतृत्व चयन भएको पाथीभरा याङ्वरक गाउँपालिकामा टीकाराम सुनुवार अध्यक्ष रहेको कमिटी गठन भएको छ। मैवाखोला गाउँपालिकामा राजन थक्लुङ अध्यक्ष रहेको कमिटी बनेको छ। 

मेरिङदेन गाउँपालिकामा आशिष केदेम र फक्ताङलुङ गाउँपालिकामा सरोज एभेङ अध्यक्ष रहेको कमिटी सर्वसम्मत नेतृत्व चयन गरिएको चाम्लिङले जानकारी दिए। यता फुङलिङ नगरपालिकामा गमबहादुर फुरुम्बु लिम्बूलाई पराजित गरी ज्ञानेन्द्र लावती नगर कमिटी अध्यक्ष बने। 

सिरिजङ्गा गाउँपालिकामा सुन्दर थेबेले मनकुमार राईलाई पराजित गरी गाउँपालिका कमिटी अध्यक्ष निर्वाचित हुँदा सिदिङ्वामा भूमी तामाङले अग्नि श्रेष्ठलाई पराजित गरी गाउँ पालिका कमिटी अध्यक्षमा बने। अब आठराई त्रिबेणी गाउँपालिकाको पनि पालिका अधिबेशन सम्पन्न गरेपछि जिल्लाका सबै पालिका कमिटीमा नयाँ नेतृत्व चयन भईसक्ने एमाले ताप्लेजुङले जनाएको छ। 

जिल्ला प्रचार विभाग प्रमुख चाम्लिङले अब धमाधम वडा कमिटीको अधिबेशन सम्पन्न गर्ने कार्यतालिका रहेको जानकारी दिए। ताप्लेजुङमा ६१ वटा वडा रहेका छन्। सबै वडामा एमालेले अधिबेशन सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ। 

प्रकाशित: ४ मंसिर २०८१ १०:५७ मंगलबार

# CPN UML #Taplejung