राजनीति

वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन्। सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ। मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा. दीपककुमार खराल लगायत छन्।

सम्मेलनमा नेपालले जलवायु अनुकूलन, हानि, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरूको विषय प्रमुख रूपमा उठान गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालयले राष्ट्रिय स्थितिपत्र तयार गरेको छ। राष्ट्रिय स्थति पत्रमा विशेषगरी हानि पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखिएको छ।

कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ। उनले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्ने जनाइएको छ।

यसका साथै नेपालले आफ्ना मुद्दाबारे विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ।

प्रकाशित: २४ कार्तिक २०८१ १२:३८ शनिबार

#Climate change #Forest and Environment Minister Ain Bahadur Shahi Thakuri #Baku is the capital of Azerbaijan