राजनीति

‘शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन्’

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताएका छन्। शङ्खरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शैक्षिक क्षेत्रका समस्या अन्त्य गर्न राजनीतिक दलले विशेष भूमिका खेल्नुपर्ने बताए।

“शिक्षा क्षेत्रमा देखिएका विकृति विभिन्न कोणबाट आएका छन्”, अध्यक्ष दाहालले भने, “यस्ता समस्या समाधान गर्न राजनीतिक दल वा विचारबाट भन्दा माथि उठेर सबै एकजुट भएर समन्वय गर्नु जरुरी छ।”

आफू छोटो समय शिक्षकका रूपमा काम गरेको स्मरण गर्दै उनले नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा शैक्षिक उन्नयनमा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए।

शिक्षण पेसालाई अपमानित गर्ने खराब संस्कृतिको विकास हुन थालेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले सबै मिलेर शिक्षणलाई सम्मानित पेसाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। नेपाली जनताको त्याग र बलिदानबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई नयाँ संविधान कार्यान्वयनका क्रममा रहेको भन्दै उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी सबैले इमान्दारिपूर्वक पूरा गर्नुपर्ने बताए।

साँखु क्षेत्रको विकासका साथै विद्यालयको भौतिक पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षाका लागि आफूले गर्न सक्ने सहयोगसहित आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै अध्यक्ष दाहालले सबैको एकताबद्ध साथ आवश्यक रहेको बताए।

“शैक्षिक गुणस्तर कायम गर्नु शिक्षक, अभिभावक, विद्यार्थी सबैको जिम्मेवारी हो”, उनले भने, “यहाँको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकासँगको सहकार्यमा मैले गर्न सक्ने सहयोग र पहलका लागि प्रतिबद्धता व्यक्त गर्दछु।”

प्रकाशित: १५ कार्तिक २०८१ १३:३७ बिहीबार

# National Assembly Speaker Narayan Prasad Dahal # Problems and distortions seen in the educational sector