राजनीति

संसदीय समितिमा गृहमन्त्री अनुपस्थित

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखक अनुपस्थित भएका छन्। समितिले असोज ११ र १२ गते मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोबाट भएको जनधनको क्षति र पीडितका पक्षमा सरकारले गरेका कामबारे जानकारी लिन बैठक राखी गृहमन्त्री लेखकलाई बोलाएको थियो।

गृहमन्त्री अनुपस्थित भए पनि समितिको बैठक भने बस्यो। बैठकमा गृहसचिव र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी भने उपस्थित भए। उनीहरूले सरकारले अहिलेसम्म गरेका राहत वितरण, उद्धार, घाइतेको उपचारलगायत कामबारे समितिलाई जानकारी गराए।

उनीहरूका कुरा सुनेपछि समितिले बाढीपहिरोप र डुबानपीडितलाई राहत, घाइतेको उपचार, हराइरहेका १८ जनाको खोजी, क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्न अझै प्रभावकारी काम गर्न निर्देशन दिएको छ।

गृहमन्त्री लेखकले अन्तिम समयमा आएर आफू निकै व्यस्त रहेकाले बैठकमा आउन नसकेको जानकारी गराएका थिए। बैठकमा गृहमन्त्री उपस्थित नभएपछि केही सदस्यले आलोचना गरेका थिए। 

प्रकाशित: ३ कार्तिक २०८१ १०:१४ शनिबार

#Committee on Public Policy and Delegated Legislation # National Assembly