राजनीति

रवि लामिछाने पक्राउ

राज्यले आफूमाथि पूर्वाग्रह राख्यो : लामिछाने

पार्टी मुख्यालय बनस्थलीमा सीआईबी टोलीको घेरामा रास्वपा सभापति लामिछाने । तस्बिर : विजय राई/नागरिक

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको केही घण्टापछि नै प्रहरीले उनलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउपछि प्रतिक्रिया दिँदै सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाए। सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गर्दै सरकार बनाउने सहमति भएकै दिन आफूलाई पक्राउ गर्ने निर्णय भएको बताए । उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’

लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

पक्राउ पर्नुअघि पार्टी मुख्यालय बनस्थलीमा पत्रकार सम्मेलन गर्दै रास्वपा सभापति लामिछाने । तस्बिर : विजय राई/नागरिक 

सुर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले सहकारीको रकम अपचलन गरेको आरोप छ। उक्त रकम अपचलन गरेको भन्दै परेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । गोर्खा मिडिया नेटवर्कमा ल्याएको रकम लामिछानेले अपचलन गरेको आरोप छ । लामिछाने उक्त नेटवर्क अन्तर्गत सञ्चालिन ग्यालेक्सी टिभीका प्रवन्ध निर्देशक थिए।

पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।  

रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए । उनलाई कास्की अदालतले शुक्रबारमात्रै २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

पार्टी मुख्यालय बनस्थलीमा सीआईबी टोलीको घेरामा रास्वपा सभापति लामिछाने । तस्बिर : विजय राई/नागरिक 

प्रकाशित: २ कार्तिक २०८१ १९:०१ शुक्रबार

#Raswapa #rabi lamichhane #Ramesh Lakahk