राजनीति

बागमती सरकारले चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने

बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ।

ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा शनिवार बग्दै गरेका दुईजनाको सकुशल उद्दार गरेका तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चाणिकलालको साहासिक कामबाट दुईजनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए।

काभ्रेको तेमाल गाउँपालिका–९ चोकटारका तामाङले गत शनिवार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी ६ वर्षीया छोरी मेघना साह र राजुका भाई २२ वर्षीय राज साहको उद्दार गरेका थिए।

तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए।

विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिए।

तामाङको साहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भुमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताए।

प्रकाशित: १४ आश्विन २०८१ १०:४४ सोमबार

#Chaniklal tamang #Bahadur Shing Lama