भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने भएकी छन्।
भारत भ्रमणका लागि आइतबार दिल्ली पुगेकी उनले सोमबार साँझ साढे ७ बजे प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेकी हुन्। भेट हैदरावाद हाउसमा हुनेछ।
भेटमा आपसी चासोका विषयमा छलफल हुने बताइएको छ। सो क्रममा उनले नेपाल सरकारका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तासमेत दिने परराष्ट्रका एक कर्मचारीले बताए।
मन्त्री राणाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो।
प्रकाशित: ३ भाद्र २०८१ १८:१० सोमबार