राजनीति

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय सदस्यका लागि कार्यदेश तोकेको छ।

आगामी भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जसपा नेपालले केन्द्रीय अभियन्ताका लागि कार्यादेश तोकेको हो।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतवार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरुको कार्यादेश तय गरेका हुन्। जसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने छ।

त्यस्तै विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति÷समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेद लगायतका विषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन्।

त्यस्तै केन्द्रीय अभियन्ताले कोशी प्रदेशको नाम खारेजी र ऐतिहासिक पहिचानको आधारमा नामाङ्कन गर्नका लागि दबाब सिर्जना गर्न, समुदायमा जागरण ल्याउने र पार्टी विभाजनबारे भण्डाफोर गर्नुपर्ने भनि निर्देशन गरिएको छ।

पार्टीका चार सय पन्ध्र जना केन्द्रीय अभियन्तालाई पार्टीको आदर्शहरु सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य – समाजवादी लोकतन्त्रको अवधारणा बारे र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोण प्रष्ट्याउने गरी केन्द्रीय नेताहरुलाई अभियानमा खटाइने भएको छ।

चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनि निर्धारण गरेको छ।

जसपा नेपालको साउन २७–३० मा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरुलाई अभियन्ताको रुपमा चार महिना पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको थियो।

प्रकाशित: ३ भाद्र २०८१ १०:३३ सोमबार

#Upendra Yadav