राजनीति

नेविसंघद्वारा बंगलादेशका विद्यार्थीको प्रशंसा, अल्पसंख्यकको संरक्षण गर्न माग

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बंगलादेशी विद्यार्थी नेताहरूको बहादुरी र लचकपनको प्रशंसा गरेको छ । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक परिवर्तनमा त्यहाँ सञ्चालित आन्दोलनमा विद्यार्थी नेताले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । ‘हामी बंगलादेशी विद्यार्थी नेताहरूको बहादुरी र लचिलोपनको प्रशंसा गर्दछौं, जसले लोकतान्त्रिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका छन्,’ नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक आदर्शप्रति उनीहरूको प्रतिबद्धता यस क्षेत्रका युवाका लागि प्रेरणादायी उदाहरण हो। सकारात्मक रूपान्तरणमा युवाहरूको शक्तिलाई स्वीकार गर्दै नेविसंघ उनीहरूसँग ऐक्यबद्धतामा उभिएको छ।’ 

यस्तै लोकतान्त्रिक संक्रमण र अल्पसंख्यकको संरक्षण सुनिश्चितता गर्न नेविसंघले माग पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी अल्पसंख्यक समूहविरुद्ध हिंसाको समाचारहरूबारे गहिरो चिन्तामा छौं । र, उनीहरूको सुरक्षाको लागि तत्काल आवश्यकीय कुरामा जोड दिन्छौं।’ 

नयाँ बन्ने अन्तरिम सरकारले सबै नागरिक, विशेषगरी अल्पसंख्यकको सुरक्षा र अधिकारलाई प्राथमिकता दिनुपर्ने नेविसंघको माग छ । नेविसंघको विज्ञप्तिमा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । 

‘नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नु सबै सम्बन्धित निकायहरूको प्राथमिकता हुनुपर्छ। हामी बंगलादेशको अन्तरिम सरकारसँग विद्यार्थीहरूलाई उनीहरूको कलेज र विश्वविद्यालयहरूमा फर्कनका लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ । 

यस्तै बंगलादेशको संघर्षमा ज्यान गुमाउनेलाई सम्मान गर्दै लोकतन्त्र, मानवअधिकार र न्यायको रक्षा गर्न सरकारसँग आह्वान समेत गरिएको छ ।

प्रकाशित: २५ श्रावण २०८१ १५:११ शुक्रबार

#Nepal Students Association #President Dujang Sherpa