राजनीति

माधव नेपालले फेरि भने: एमालेबाट विद्रोह नगरेको भए गल्लीमा भड्किनुपर्थ्यो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोहले संविधानको रक्षा गरेको कुरा दोहोर्‍याएका छन्। यस्तै विद्रोहले न्यायोचित काम गरेको पनि नेपालले बताए।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन। विद्रोह गरेर संविधान बचायौँ हामीले,’ उनले भने,‘विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्‍यौँ। विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि भुमिका निर्वाह गर्‍यौँ।’

आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन क्रान्तिकारीकरण गर्दै नयाँ पार्टी निर्माण गरेको अध्यक्ष नेपालले बताए। उनले भने, ‘नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍यौँ। नभए हामी हराइसकेका हुन्थ्यौँ। हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो। आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो।’

धेरै मान्छेलाई निरास हुनबाट जोगाएको पनि उनले बताए। ‘कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ। र, सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ। हाम्रो भूमिकालाई स्थापित गरेका छौँ,’ उनले भने।

प्रकाशित: १४ असार २०८१ १८:२९ शुक्रबार

#madhab kumar nepal