राजनीति

बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छिन्।

प्रेस सेन्टरले शनिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन। बजेट सन्तुलित रहेको चर्चा गर्दै उनले भनिन, ‘जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ।’

बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको बताइन। उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट गरिन। विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने नेकपा (माओवादी क केन्द्र) सोच छ भनिन।

‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृहमन्त्रालय लगायतको समन्वय बैठकबाट रेडियो नेपाल, निजी सामुदायिक रेडियो, नेपाल टेलिकमबाट एसएमएसका माध्यमबाट बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा पूर्वसूचना दिने भनेर एक सम्झौता गरिएको छ, सरकार विपद् व्यवस्थापनका निम्ति तम्तयार छ एवं संवेदनशील छ,’ मनसुन प्रारम्भ भएसँगै दैवी विपत्तिको जोखिम बढ्ने सन्दर्भमा विपद् व्यवस्थापनमा सरकारको तयारी बारेको जिज्ञासामा उनले भनिन।

सूचना प्रविधि दशक मनाउने सरकारको योजनाले निजी क्षेत्र उत्साहित बनेको उल्लेख गर्दैै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरी व्यवस्थित गर्न सकिएमा देशमा अर्बौं भित्र्याउन सकिने बताइन।

उनले भनिन, ‘१६औँ योजना र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट वक्तव्यमा पनि सूचना प्रविधिको विषय समेटिएको छ, यसको विकास गरी नेपाललाई ‘आइटी हब’ मा रुपान्तरण गर्नेगरी काम गरिरहेका छौँ ।’ मन्त्री शर्माले आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने बताइन।  

प्रकाशित: ८ असार २०८१ १४:४२ शनिबार

#Communication and Information Technology Minister Rekha Sharma #Budget for the financial year 2081/082 #Press Center #There will be no problem between the ruling parties