राजनीति

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी

नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी रहने छ। शनिवारबाट ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुनेछ। 

बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी छन्।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भइरहेको परिषद् बैठकको पहिलो दिन राजनीतिक र साङ्गठानिक प्रतिवेदन प्रस्तुत भएका थिए।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुने छ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत हुने छ। प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन्।

मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न  सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्ने छ।

प्रकाशित: ९ वैशाख २०८१ ०७:३६ आइतबार

पार्टी अध्यक्ष केपी ओली नेकपा (एमाले) राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् ललितपुरको गोदावरी