राजनीति

एमाले उम्मेदवार सुहाङको यस्तो छ ‘सुहाङ संकल्प’

एमाले उम्मेदवार सुहाङ नेम्बाङ। तस्बिर : नागरिक

आउँदो १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। उनले मुख्य १० विषयमा एजेन्डामा केन्द्रित रहेर समृद्ध इलाम–सुखी इलामेलीका लागि ‘सुहाङ संकल्प’ ल्याएका हुन्।

नेम्बाङले सुशासन, कृषि, पर्यटन, स्वास्थ्य, सडक, शिक्षा, उद्योग, खेलकुद, खानेपानी, सूचना–सञ्चार लगायत विषयका एजेन्डा सार्वजनिक गरे। सुशासनअन्तर्गत उनले ‘हाम्रो दृढ र स्पष्ट विचार : हुन दिन्नौं इलामका कुनै पनि आयोजनामा भ्रष्टाचार’, कृषितर्फ सुखी इलामेलीको आधार : अर्को अनुसन्धान, आधुनिकीकरण, ब्रान्डिङ र बजारीकरण’ र पर्यटनतर्फ ‘विदेशी पर्यटक आवागमनको आधार : एकीकृत पर्यटन प्याकेज निर्माण र प्रचारलाई नारा बनाएका छन्।

उम्मेदवार नेम्बाङले स्वास्थ्यतर्फ ‘हरेक स्थानीय तहमा चिकित्सकसहितको अस्पताल : मर्ने छैनन् कोही इलामेली अकाल’, सडकतर्फ ‘हरेक वडादेखि पालिका केन्द्रसम्म पक्की सडक : बनाउने छौं सबै इलामेलीको दैनिकी सहज’ र शिक्षातर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि : गाउँ फर्किने छन् हाम्रा छोराछोरी’ लाई एजेन्डाका रूपमा ल्याएका छन्।

यसैगरी, उद्योगतर्फ ‘इलामेलीको इलम : सहरका हरेक डिपार्टमेन्टल स्टोरमा मेड इन इलाम’, खेलकुदतर्फ ‘एक वडा एक खेलकुद मैदान, एक स्थानीय तह एक रंगशाला : खेलाडीको संरक्षण हाम्रो अभिभारा’, खानेपानीतर्फ ‘एक घर एक धारा : सफा खानेपानी सुविधा सुनिश्चितता हाम्रो अभिभारा र सञ्चार तथा सूचनातर्फ ‘हरेक घरमा इन्टरनेट सुविधा : हुने छैन देश–विदेशको सूचनामा द्विविधा’ सुहाङका चुनावी एजेन्डा छन्।

यीबाहेक उनले सहरमा संघर्ष गरिरहेका गाउँलेका छोराछोरीको आफू सधैं साथी हुने, विदेशमा अलपत्र इलामेको उद्धार, किरात धार्मिकस्थल लारुबालाई राष्ट्रिय पहिचान दिनेदेखि इलामेका मुद्दामामिलामा कानुनी सल्लाहसमेत दिने एजेन्डा मतदातासामु राखेका छन्। नेम्बाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले समेत समर्थन गरेका छन्।

क्षेत्र २ को उपनिर्वाचनका लागि १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। नेपाली कांग्रेसले जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बू र पहिचान पक्षधरको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन्।

नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली उम्मेदवार बनेका छन्।

स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: ८ वैशाख २०८१ १३:४५ शनिबार

सुहाङको ‘सुहाङ संकल्प’ इलाम क्षेत्र २ को उपनिर्वाचन नेकपा (एमाले)