राजनीति

प्रभु साहले गरे तेस्रो जन आन्दोलनको घोषणा

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन्। शनिबार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन्।

उनले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए।

उनले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन सुरु गर्नुपरेको सुनाए। 

अहिलेको पार्टी र नेताहरुले आफ्नो पुस्ताका लागि मात्रै काम गरिरहेको उनको जिकिर थियो। लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकहरुले बेइमानी गरेको उनको ठहर छ।

‘तपाईँहरूलाई साक्षी राखेर आम नेपाली जनतालाई साक्षी राखेर हामी भन्न चाहन्छौँ, नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ, यसको एउटा ऐतिहासिक दिनको आजको सुरुवात हो। तेस्रो जनआन्दोलनको आज उद्घोष गर्न चाहन्छु।’ उनले भने। 

प्रकाशित: २४ चैत्र २०८० १८:३६ शनिबार