राजनीति

सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन्।

शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी भएको बताए।

एनले प्राप्त भएका यी उपलब्धीको रक्षा एवं सुदृढीकरण गर्दै एक–अर्काको संस्कार र संस्कृतिको सम्मानसहित आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार रहेको पनि उल्लेख गरे।

पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व रहेको भन्दै प्रधानमन्त्री दाहालले शेर्पा समुदायको मौलिक परम्परा अनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहिआएको बताए।

उनले यस पर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास समेत व्यक्त गरे।

प्रकाशित: २८ फाल्गुन २०८० ०७:०० सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल ग्याल्पो ल्होसार शेर्पा समुदाय सामाजिक न्याय