राजनीति

आज रातिदेखि राष्ट्रिय सभाको चुनाव प्रचारप्रसार गर्न नपाइने

बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका प्रचारप्रसारको अवधि सकिन लागेको छ। माघ ८ राति अर्थात् आज राति १२ बजेपछि मतदानको काम नसकिँदासम्म प्रचारप्रसार गर्न नपाइने भएको छ। माघ ११ मा राष्ट्रियसभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा चुनाव हुँदैछ।

निर्वाचन आयोगका अनुसार ‘आज राति १२ बजेपछि देखि राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने बताएको छ। व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउने छैनन्।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने निर्वाचन आयोगले जनाएको छ। 

‘सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ’ आयोगले भनेको छ।

निर्वाचनमा  प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रूपमा माघ ११ बिहान ९ बजे देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित: ८ माघ २०८० ०७:३६ सोमबार

राष्ट्रिय सभा