राजनीति

नक्कली बाबु बनेका मेयर सिंह विरुद्ध स्थानीयले बुझाए ज्ञापन पत्र

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ। मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिएको भन्दै स्थानीयले विगतका दिनमा जस्तै आज पनि विरोध प्रदर्शन गरेका हुन्।

छोरी नभएका मेयर सिंहको छोरी भनी नागरिकताका लागि सिफारिस दिएको भन्दै वडा कार्यालयमा प्रदर्शन गर्नुको साथै प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापन पत्र बुझाइएका छन्।

ठाकुरराम क्याम्पसबाट सचेत नागरिक समाजले सिंहसहित दोषीलाई कारबाहीको माग गर्दै  वडा नं ३ को कार्यालय परिसरमा पुगेका थिए।मेयर राजेशमान सिंहले आफ्नी हुँदै नभएकी छोरीलाई छोरी भन्दै रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएका छन्।

राजेशमानले सिफारिस लिँदाको समयमा उक्त वडाका वडा अध्यक्ष बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन्। तर, नागरिकताको सिफारिस भने निमित्त वडा अध्यक्ष तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए।

त्यस्तै नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले आफैँ नक्कली बाबु बनेर नागरिकता दिलाएका कारण मेयरलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।

त्यस्तै राष्ट्रियतासँग खेलवाड गर्नेलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुने र सोको जिम्मेवारी समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित: २९ पुस २०८० ०९:०३ आइतबार

राजेशमान सिंह वीरगन्ज महानगरका मेयर राजेशमान सिंह ठाकुरराम क्याम्पस सचेत नागरिक समाज तुफैल अखतर ठकुराई रुबिना श्रेष्ठ बैजुलाल स्वर्णकार