प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भारत सरकारसँग भएको सम्झौताको डकुमेण्टहरु समिति वा सदनमा खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको जिकिर गरे।
उनले भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने प्रकृतिका सम्झौता भारतसँग मात्रै नभई अन्य देशहरुसँग पनि हुँदै आएको दाबी गरे। भारतसँगको यो सम्झौता संघीय सरकारको हात माथि पर्ने गरी गरेको प्रधानमन्त्री दाहालले जनाए।
‘यो विषयका डकुमेण्टहरु खुला राख्न सरकारलाई कुनै आपत्ति छैन, समितिमा वा फुल हाउस सदनमा पनि। लुकाउनुपर्ने कुनै डकुमेण्ट छैनन्। डकुमेण्ट जस्ताको त्यस्तै लिपिवद्ध चाहियो भन्नेकुरामा कुनै आपत्ति छैन। लिपिवद्ध उपलब्ध गराइन्छ। विगतदेखिको सबै प्रचलन भन्दै आउँदा खालि भारतसँग मात्रै होइन, अन्य देशहरुसँग पनि यस्तै प्रकृतिका पनि र अलि भिन्न प्रकृतिका सहमतिहरु हुने गरेका छन्।’ उनले भने।
प्रधानमन्त्री दाहालले भारतसँग २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउने भएको सम्झौता २५ दिनअघि नै मन्त्रीपरिषद्बाट निर्णय भइसकेको विषय रहेको बताए।
प्रकाशित: २५ पुस २०८० ०९:०१ बुधबार