राजनीति

शशांक र शेखर निकट नेवि संघको अलग अलग गुट भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ(नेवि संघ)भित्रको आन्तरिक विवाद बढ्दै जाँदा आज काठमाडौंका फरक फरक स्थानमा दुई कार्यक्रम भएका छन्। पार्टीभित्रको गुटगत प्रभाव भ्रातृ संगठनमा देखिँदै आएका बेला नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सडकमा आएको हो।

त्यो पनि कांग्रेस नेताद्वय शशांक कोइराला र शेखर कोइराला निकट विद्यार्थीहरूले दुई अलग ठाउँमा कार्यक्रम गरेका हुन्।

लैनचौरमा शशांक निकट विद्यार्थीहरूले संघको महाधिवेशन माग गर्दै कार्यक्रम आयोजना गरेका छन्। त्यसको नेतृत्व पूजन गन्धर्वसहितका संघका नेता तथा कार्यकर्ता छन्। उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवा समूहसँग नजिक रहेका विद्यार्थी नेताहरू पनि पुगेका थिए।

त्यस्तै, बत्तीस पुतलीमा शेखर निकट विद्यार्थीहरूले भेला आयोजना गरेका छन्। त्यहाँ भुवन भट्ट, प्रेमिका राना मगर, धर्मराज शाहीसहित संघका नेताहरू सहभागी छन्।

सात सय जनाको केन्द्रीय तदर्थ समिति गठन गरे पनि नेपाली विद्यार्थी संघमा अहिलेसम्म पदाधिकारी तोक्न पार्टीका नेताहरू असफल भएका छन्। एक दशक देखि संघको महाधिवेशन पनि भएको छैन। सोही बेला कोइराला परिवारका दुई सदस्य शशांक र शेखर निकटका विद्यार्थीहरू अलग अलग भेलामा जुटेका हुन्। कृष्णप्रसाद कोइरालाका छोराहरू मध्यका बिपी र केशवका छोराहरू हुन् शशांक र शेखर। शशांक बिपी र शेखर केशवका छोरा हुन्।

प्रकाशित: ११ पुस २०८० १०:२४ बुधबार

नेवि संघ भ्रातृ संगठन नेपाली कांग्रेस कृष्णप्रसाद कोइराला बत्तीस पुतली लैनचौर शशांक कोइराला शेखर कोइराला निकट विद्यार्थी