राजनीति

एनसेल सेयर बिक्रीबारे अध्ययन गर्न छानबिन समिति बनाइने

सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धन दलका शिर्ष नेताहरुको बैठकपछि सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्मा एक प्रेस विज्ञप्ति जारी गरी यसबारे बताएकी हुन्।

उनले विज्ञप्ति मार्फत दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरकाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रीपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको बताइन्।

उनले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिइ र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा बिक्री भएको उल्लेख गरिन्।

‘यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको छ। नेपाल सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्युनिकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ। यस अध्ययन छानबिनबाट कुनै अनियमितता भएको पाइए नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानून बमोजिम कडा कारबाहीको दायामा ल्याउनेछ।नेपाल र नेपालीको हीत र सम्बन्धित कानूनको पालना गर्न र गराउन नेपाल सरकार प्रतिवद्ध रहेको छ।’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १९ मंसिर २०८० १५:४० मंगलबार