राजनीति

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरूको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन्।

सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताए । आज ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लालिगुँरास फूलको बिरुवा रोपेपछि उनले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भए पनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको धारणा व्यक्त गरे। 

सभामुख घिमिरेले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुसी व्यक्त गर्दै यसले मुलुकलाई समृद्ध बनाउन र पर्यटनमार्फत समृद्धि योजना बनाउन पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले नेपालप्रतिको आकर्षण, आम्दानी बढाउन सो क्षेत्रले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले महालक्ष्मी नगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको बताए।

महालक्ष्मी नगरपालिकाले काठमाडौं उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाइएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको छ । नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान अन्तर्गत  आगामी माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताए ।

उनका अनुसार सो नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरूको स्मृति पार्कहरूलाई निर्माण गर्दै लैजानेछ।यसले काठमाडौं उपत्यका र यस क्षेत्रको पर्यटन र पर्यावरणमा मात्रै योगदान नदिई नेपालको समृद्धि महत्त्वपूर्ण योगदान पुर्‍याउने महालक्ष्मी नगरपालिकाको बुझाई छ।  

प्रकाशित: १५ भाद्र २०८० ११:३५ शुक्रबार

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छः सभामुख घिमिरे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेपाल विश्वकै सुन्दर मुलुक मनमोहन मेमोरियल टावर परिसर