ललितपुर – २०३७ सालको जनमत संग्रहपछि ललितपुर पुल्चोकका चिरीबाबु महर्जन राजनीतिक मैदानमा उत्रिए र तत्कालीन ललितपुर नगरपालिका वार्ड पञ्चायतको चुनाव जिते । २०३८ र २०४३ को स्थानीय निर्वाचनमा निर्वाचित भएका चिरीबाबुले २०४९ मा समेत हार्नुपरेन ।
‘२०५४ को निर्वाचनमा म छुटें, उठेको भए जित्छु भन्ने विश्वास थियो, मैले बनाएको छु कसैको बिगारेको छैन,’ चिरीबाबुले भने । उनले २०५५ देखि २०६३ सम्म परियोजनाप्रमुखका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा काम गरे।
परियोजनासँगको नाता टुटेपछि उनी राजनीतिमै फर्के । संविधानसभाका दुवै निर्वाचनमा पार्टीका लागि जुटेको बताउने चिरीबाबु भन्छन्, ‘मेरो राजनीति र व्यवस्थापकको मिश्रणले महानगर बनाउन काम दिनेछ, सम्भावना भएरै पनि ललितपुर पछि परेको हामीलाई अनुभव छ ।’
२०१४ मंसिर १६ मा जन्मिएका चिरीबाबु तीन दिदीपछिका तीन दाजुभाइमध्ये माइला हुन् । बाबु न्हुच्छेलाल महर्जन र आमा हरिमायाका सन्तान चिरीबाबुले व्यवस्थापनमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरे तर बडो कठिनाइपूर्वक, जीवनयापन पनि निकै कष्टकर रह्यो । ‘निकै कष्टकर थियो हाम्रो बाल्यकाल, हामीले शिक्षा र जीवनयापनका लागि गरेको सघर्ष कम्तीमा मेरो महानगरमा नहोस्,’ विगत सम्झँदै उनले भने ।
ललितपुरमा रहेका जीवन्त सम्पदालाई पर्यटनको आकर्षण बनाएर ललितपुर प्याकेज तयार पार्ने परिकल्पना उनको छ । यस्तै जाममुक्त ललितपुर बनाउने पनि उनको योजना छ । ‘स्थानीय कर्मचारी प्रशासनले लामो समय नेतृत्व गरेकाले केही अप्ठेरो र मतान्तर हुन सक्छन्, बेथिति छन् भनेर हात बाँधेर बस्दैनौं,’ उनले थपे, ‘जनमुखी प्रशासन र आर्थिक विकास तथा पर्यावरण प्राथमिक विषय हुन् ।’
ललितपुर महानगरपालिकामा २४ हजार ६ सय ४२ मत ल्याएर मेयर चुनिएका चिरीबाबु बुधबार पुल्चोकस्थित घरमा शुभचिन्तकको घेराबन्दीमा थिए । मतदातासँगै राजनीतिक सहकर्मी र आफन्तसँग शुभकामना साटिरहेका थिए ।
ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश बालमुकुन्द दवाडीले विजयी भएका मेयर चिरीबाबु र उपमेयर गीता सत्याललाई शपथ खुवाएका थिए । बुधबार नै दुवैले ललितपुर महानगरको जिम्मेवारी समालेका छन् ।
जिम्मेवारी बुझेर आएकी हु, वाचा पूरा गर्छु : उपमेयर सत्याल
उनको प्राथमिकता महिलालाई सीप सिकाएर उद्यमी बनाउने र व्यवस्थापन महानगरबाट गर्ने रहेको छ । यस्तै स्वयंसेविकाका रुपमा महानगरमा क्रियाशील महिलाका लागि तलबमान व्यवस्था गरेर सेवा प्रभावकारी बनाउनेसमेत योजना छ ।
‘महानगरलाई सबै प्रकारका हिंसामुक्त सुन्दर पर्यटकीय सुरक्षित सहर बनाउने योजना बनाएका छौं, आधारभूत आवश्यकता र जनसेवा प्रभावकारी हुनेछ,’ गीताले नखिपोटस्थित निवासमा नागरिकसँग भनिन् ।
प्रकाशित: १३ जेष्ठ २०७४ ०५:२० शनिबार