राजनीति

धर्ना बसेका नागरिकमाथि प्रहरी दमन नहोस्: सांसद् अमरेशकुमार सिंह

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गरेका छन्।

सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे। बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धि विचाराधिन मुद्दालाई किनारा लगाउन ढिलाई गर्न सर्वोच्च अदालतको पनि गम्भिर ध्यानाकर्षण गराए।

सांसद सिंहले भने, ‘कही दिनदेखि नागरिकता नपाएकाहरु माईतीघर मण्डलामा धर्नामा बसेका छन्। साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ। उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाईज हुनुहुन्छ। एकातिर २०७२ मा संविधान जारी भयो। तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चुकेकै छन्। जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन। हिजो नै उनीहरुसँग जुन व्यवहार भएको छ। त्यसको भत्सर्ना गर्न चाहन्छ । किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस्। सरकारसँग माग गर्न चाहन्छ । ’

सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु कुनै पनि अर्थ उचित नभएको बताए।

प्रकाशित: ६ असार २०८० ०७:४२ बुधबार

धर्ना बसेका नागरिकमाथि प्रहरी दमन नहोस्