राजनीति

सुर्खेतमा प्रहरी जवानको परीक्षा दिने १२ नक्कली परीक्षार्थी पक्राउ

लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

विभिन्न परीक्षा केन्द्रहरूबाट अर्काको साटो परीक्षा दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा अधिकांश जाजरकोट जिल्लाका छन् भने दैलेख, सुर्खेत र बाँकेका समेत रहेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका-११ का १९ वर्षीय केशव थापा, दैलेख दुल्लु नगरपालिका-१ का १८ वर्षीय रमेश नेपाली र सुर्खेत गुर्भाकोट नगरपालिका-१३ का २४ वर्षीय वीरबहादुर ठाडा रहेका छन्।

त्यस्तै, एउटै गाउँपालिका जाजरकोट कुशे-२ का मात्रै पाँच जना पक्राउ परेका छन्। जसमा विपेश सिंह, १८ वर्षीय सूर्यकिरण शाही, २१ वर्षीय निरज शाही, २३ वर्षीय नवराज विक र २६ वर्षीय पूर्णबहादुर सिंह रहेका छन्।

यसैगरी, जाजरकोट जुनीचाँदे गाउँपालिका-१ का १८ वर्षीय ललित रावल र छेडागाड-१० का १९ वर्षीय चन्द्र शाह पनि पक्राउ परेका छन्।

बाँकेको बैजनाथ गाउँपालिका-२ का २४ वर्षीय रामु कार्की र वडा नं-१ का २५ वर्षीय मोतिलाल थारुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरूले आर्थिक लाभ लिएर सक्कली परीक्षार्थीको नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर परिवर्तन गरी परीक्षामा सहभागी भएको पाइएको छ।

उनीहरूमाथि लिखत सम्बन्धी कसुर र आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: १८ माघ २०८२ १७:२७ आइतबार