राजनीति

नेकपा एसले बैशाख नौं गते नेकपा स्थापना दिवस मनाउने

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बैशाख नौं गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ।  

शुक्रबार काठमाडाैको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख नौं गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रुपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रुपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ।  

बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ। न्यौपानेले पार्टी परित्याग गरेकाले उनको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताए। उनले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रिय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको पनि स्पष्ट पारे।  

नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका न्यौपाने लगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमाले प्रवेश गर्ने तयारीमा छन्।

प्रकाशित: १ वैशाख २०८० १०:३४ शुक्रबार

एमालेका नेता/कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस