राजनीति

अन्ततः तामेली भयो लोकमानको म्याद, अब पेसी चढाउन बाधा छैन

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा म्याद तामेल भैसकेको सर्बोच्च अदालतका तमेलदारले प्रशासनलाई प्रतिबेदन बुझाएका छन्।

वडा सचिवलाई रहोवरमा राखेर तामेल गरेको तामेलदारले प्रतिबेदन दिएका सर्बोच्च अदालत श्रोतले जनाएको छ।

सर्बोच्चका प्रवक्ता नहकुल सुवेदीले म्याद तामेल भएको जनाकारी सर्बोच्चलाई प्राप्त भएको बताए। सोमबार अबरोध भएपनि तामेलदारले चलाखीपूर्ण ढंगले नजिकको वडा कार्यालयमा म्याद तामेल गरेका हुन्।

नियमानुसार म्याद तामेली भएको मिति कात्तिक १ गतेदेखि गणना हुनेगरी १५ दिन भित्रमा कार्कीले लिखित जवाफ दिनु पर्नेछ।

असोज ५ गते सर्बोच्चबाट जारी भएको सूचना टाँस गर्न सर्बोच्चको टोलीलाइ झण्डै १ महिना लाग्यो।

मुलुकी ऐन र सर्बोच्च अदालत नियमावली अनुसार प्रतिवादीको डेरा, घर वा नजिकैको सार्वजनिक स्थलमा तामेली गर्न सकिने व्यवस्था छ। तामेलदारले त्यही व्यवस्था टेकेर वडा कार्याल्यमा सोमबार बेलुका मुचुल्का उठाएका थिए।

सर्बोच्चका सुब्बा र तामेलदारको टोली वडा कार्यालयमा पुगेर मुचुल्का तयार पारेको हो।

तामेलदारले प्रतिबेदन दिएपछि लोकमानको मुद्दा पेसीमा चढ्न अब अवरोध हुने छैन।

यसअघिका तमेलदार शम्भु खत्रीलाई कारवाही गर्ने विषयमा सर्बोच्च अदालतमा बहस भैरहेको छ। म्यादी आनन्दमोहन भट्टराईको इजलासमा उनको मुद्दाको सुनुवाई चलिरहेको छ। मंगलबारको बहस पछि म्याद तामेलीका विषयमा पनि सर्बोच्चले केही धारणा बनाउन सक्ने बताइएको छ।

प्रकाशित: २ कार्तिक २०७३ ०७:४४ मंगलबार

अन्ततः तामेली लोकमानको म्याद अब पेसी चढाउन बाधा छैन