प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताएका छन्।
बिहीबार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताएका हुन्।
उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको पनि बताए। उनले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए।
उनले भने, ‘आज सभामुखको निर्वाचन भयो। सबै कुरा थाहा पाउनुभयो। हामी सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभियौं। प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो। प्रतिष्पर्धा भयो। बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो। भोली उपसभामुखको निर्वाचन हुन्छ। आजकै प्रक्रियामा हुन्छ। राष्ट्रपतिको कुरा बाँकी रहेको छ। हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ। हामी त्यो कोशिस जारी राख्छौं।’
उनले सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभिएको जिकिर गरे। उनले सत्तासाझेदार दलहरु एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए।
प्रकाशित: ५ माघ २०७९ ११:५२ बिहीबार