नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर पहिलो पटक प्रत्यक्ष रुपमा जनताबाट अनुमोदित भएका छन्। बाँके क्षेत्र नम्बर ३ बाट उनी प्रतिनिधि सभा सदस्य पदमा बिहीबार निर्वाचित भए।
उनले नेकपा एमालेका किस्मतकुमार कक्षपतिलाई ४ हजार ७ सय ९३ मतान्तरले पराजित गरे। राठौरले २९ हजार ४० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरेका छन्।
२०७० सालको संविधान सभा निर्वाचनमा बर्दियाको तत्कालिन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लडेका राठौंर त्यतिबेला भने निर्वाचित हुन सकेनन्। संविधान जारी भएपछि उक्त क्षेत्रलाई २ नम्बर बनाइयो। सोही क्षेत्रबाट नेता राठौंरलाई पार्टीले २०७४ सालको निर्वाचनमा भने समानुपातिक सांसद बनायो।
पाँच दलिय गठबन्धनबीचको सहमती अनुसार बर्दियाको उक्त क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा परेपछि सहमहामन्त्री राठौर यसपटक बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लडेका हुन्। जनताबाट पहिलो पटक प्रत्यक्ष अनुमोदित भएका राठौंरले यतिखेर थप जिम्मेवारी महसुस गरेका छन्। उनले किसान र समग्र जनताका कामहरु गर्न आफु निरन्तर खटिने प्रतिवद्धता ब्यक्त गरे।
‘हिजो सुशिल दाईले बाँके जिल्लाको नेतृत्व गर्नु भएको थियो, बाँकेमा जतिपनि ठुला विकासका आयोजना भए, सुशिल दाईको नेतृत्वमा भएको थियो,’ निर्वाचित भएपछि प्रतिक्रिया दिदै राठौरले भने ‘बाँकेका जनताले नेता खोजिरहेका बेला म बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएको छु, म बाँके र बर्दियाको विकासलाई जोड्न चाहन्छु।’
२०२६ बैशाख १५ गते दुर्गम पहाडी जिल्ला सल्यान, बडागाउँमा जन्मेका राठौंरले गाउँमा प्रारम्भिक शिक्षा लिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौंस्थित सिद्धार्थ वनस्थलीमा पुरा गरेका थिए। सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनलाई उच्च अध्ययनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले छोयो। ‘२०४१ साल तिर क्याम्पसमा पढ्दा पढ्दै म नेविसंघको राजनीतिमा लागेको हुँ,’ उनी भन्छन्।
त्रिचन्द्रबाट स्नातक तह उत्तीर्ण राठौंर २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवमा निर्वाचित भए। २०५१ सालमा सोही कलेजको स्ववियु सभापतिको जिम्मेवारीमा पुगेका उनी २०५२ सालमा स्वतन्त्र विद्यार्थी युनियनहरुको छाता संगठन स्ववियु फोरमको संस्थापक सभापति समेत भए। लगतै २०५३ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सह–महामन्त्री र २०५८ सालमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएर राठौंरले संगठनको नेतृत्व सम्हाले। त्यतिबेला नेपाली काँग्रेसका नेता सुशील कोइराला बाँके क्षेत्र नम्बर २ लाई केन्द्रविन्दुमा राखी राजनीति गरिरहेका थिए।
आफ्नो घर नेपालगन्ज फुल्टेक्रामा भएपनि बर्दियाको राजापुर क्षेत्रलाई राजनीति गर्ने केन्द्र बनाएका उनी २०५८ सालतिर त्यतै सक्रिय भए। ‘नेविसंघमा रहँदासम्म पार्टीको राजनीति गर्नु मैले उपयुक्त ठानिनँ,’ उनी भन्छन् ‘एक जनाले एउटा मात्र पद लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुँ म। तर, बर्दियामा कांग्रेस सुदृढ गर्न भने म लागि नै रहेँ।’
नेविसंघको नेतृत्व हस्तान्तरण गरिसकेपछि काँग्रेस पार्टीको राजनीतिमा पूरै होमिएका राठौंरका निम्ति बर्दियामा संगठन निर्माण गर्नु निकै चुनौतिपूर्ण थियो। सरकार–माओवादीद्वन्द्व कालको त्यस बेला ‘मिनी रोल्पा’ भनेर चिनिने राजापुरमा कांँग्रेसले सांगठनिक काम गर्न सक्ने अवस्था सहज थिएन पनि। त्यसबेला राजापुर क्षेत्रमै बसेर पार्टीको संगठनलाई चलायमान बनाउन उनी प्रयत्नशील रहे।
जुझारु र कुशल संगठनकर्ताको रुपमा आफुलाई चिनाउन सफल भएका राठौंर नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आईसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो। काँग्रेसले राठौंरलाई पनि समानुपातिक सभासदको उम्मेदवार बनाएको थियो। गतवर्ष सम्पन्न १४ औं महाधिवेशनबाट राठौंर काँग्रेसको केन्द्रिय सह–महामन्त्री पदमा निर्वाचित भएका थिए।
प्रकाशित: ८ मंसिर २०७९ १२:३४ बिहीबार