राजनीति

अनेरास्ववियुद्वारा बाजुरा बन्द

विद्यार्थी नेता चेयन अयडी हत्यामा संलग्नलाई पक्राउको माग राखेर अनेरास्ववियुले बाजुरा ठप्प पारेको छ। कोल्टी, मार्तडी, ताँप्रीसेरा, बाम्का, बेतालमाडौं लगायतका बजार बन्द छन्।

मंसिर ४ मा निर्वाचनका दिन घरमा बसेका आफ्ना नेतामाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी हत्या गरेको अनेरास्ववियुले आरोप लगाएको छ। आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिइसक्दा समेत नियन्त्रणमा लिन प्रहरी प्रशासन मौन देखिएको आरोप विद्यार्थी नेता लक्ष्मण रोकायाको छ।

लोकतन्त्र र विधिको शासन भएको देशमा खुलेआम हत्या आरोपीलाई संरक्षण दिने प्रहरी प्रशासनको लाचारीपनविरुद्ध आन्दोलन गरिएको अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकायाले बताएका छन्। कांग्रेस कार्यकर्ताबाट हत्या गरिएका चेतन अयडी अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बाजुरा क्याम्पसका स्ववियु सभापति हुन्। २२ जना अपराधी पक्राउ गरेर कारबाही प्रक्रिया अघि नबढाएसम्म बन्द जारी राख्ने अनेरास्ववियु बाजुराका सचिव हिक्मत रोकायाले बताएका छन् र १७ स्थानमा सत्ता र शत्तिडमा बुथ कब्जा गरेको, आफ्ना कार्यकर्तालाई कुटीकुटी मारेको आरोपसहित अनेरास्ववियु र एमालेनिकट अन्य जनसंगठन प्रतिवादको जवाफी शैलीमा उत्रिएको अवस्था छ। 

प्रकाशित: ८ मंसिर २०७९ ०५:४० बिहीबार

अनेरास्ववियुद्वारा बाजुरा बन्द