राजनीति

हत्यामा संलग्नलाई कारबाही र कब्जा बुथमा पुनः मतदान गर्नुपर्ने एमालेकाे माग

नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारले गरेको पत्रकार सम्मेलन। <br>

नेकपा एमालेले अनेरास्ववियुका नेता चेतन अयडीको हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाही अघि नबढाएसम्म र कब्जा गरिएका मतदान केन्द्रमा पुनः मतदानको मिति घोषणा नगरिएसम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने बताएको छ। हत्यारालाई कारवाही र कब्जा बुथमा पुनः मतदान हुनु पर्ने अडानमा नेकपा एमाले देखिएको छ।

नेकपा एमालेका तर्फबाट संघ र प्रदेश सभाका उम्मेदवारले सयुक्त रुपमा गरेको पत्रकार सम्मेलन मार्फत ज्यान सुरक्षाका लागि खाट मुनि लुकीरहेको व्यक्तिलाई तानेर विभत्स तरिकाले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरि कारवाही गर्नु पर्ने बताएको छ।

प्रहरी प्रशासनको चरम लापरवाही र नेपाली काँग्रेसको पूर्व योजना अनुसार नै विद्यार्थी नेता चेतन अयडीको हत्या भएको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी गराएका छन्। प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका थापाले सत्ता र शक्तिको प्रयोग गरि जसरी पनि जित्ने मानसायका साथ हत्या भएको र १७ मतदान केन्द्रको बुथ नै कब्जा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

त्रिवेणी नगरपालिका ७ मा रहेको नाटेश्वरी आधारभुत विद्यालयको मतदान स्थलमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको मृत्युको कारण पत्ता लगाउन उच्च स्तरीय छानवीन आयोग गठन आवश्यक क्षतिपूर्ति दिनु पर्ने एमालेका तर्फका पाँचै जना उम्मेदवारले माग गरेका छन्।

बुुथ कब्जा गरेर फर्जी मत खसालिएका मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुनः मतदान गर्नुपर्ने एमालेको अडान छ। एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १६ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो।

‘धाँधली र बुुथ कब्जा भइरहेका मतदान केन्द्रहरुको मतदान प्रकृया स्थागित गर्न हामीले दिउँसै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनिसकेका थियौं। तर वास्ता नै भएन् ‘मतदान स्थगित भएको भए त्रिवेणीका दुुई जना युवाहरुको ज्यान जाने नै थिएन, पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य थापाले भन्नुभयो।’

विद्यार्थी नेता अयडीलाई घरभित्रबाट निकालेर कुटिकुटि हत्या गरिएको घटनाको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेस बाजुरा र काँग्रेसका उम्मेदवारहरुले लिने पर्ने थापाको भनाइ छ। हत्यामा संलग्न रहेको भन्दै २२ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिएको छ।

एक पटक कुटपिट गरि घरमा लुुकेर बसेको व्यक्तिलाई घरबाट लछारपछार गर्दै बाहिर निकालेर क्रुर ढंगले कुटपिट गर्नु हत्या हो। किटानी जाहेरी गरिएका २२ जनालाई तत्काल पक्राउ गरी कानुुनी कारबाही गर्नु पर्दछ। त्यसो भएन भने बाजुराको निर्वाचनका बाँकी रहेका कुनै पनि प्रकृया अगाडी नबढाउने र घटनाले अर्को रुप लिनसक्ने संकेत थापाले गरेका छन्।

प्रहरी प्रशासनले एमाले उम्मेदवार र सिंगो पार्टीले उठाएको विषयमा गम्भीर नभए त्यस पछि हुने घटनाको सम्पूर्ण जिम्मेवारी नेपाली काँग्रेस र प्रहरी प्रशासनले लिनु पर्ने चेतावनी समेत दिएका छन्। एमालेका उम्मेदवारले १६ मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिनुपर्ने जनाएको छ।

नेकपा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेद्धवार कर्णबहादुर थापा, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सभा २ उम्मेद्धवार लालबहादुर थापा, केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा समानुपातिक उम्मेद्धवार दयालबहादुर शाही, प्रदेश कमिटी उपसचिव तथा प्रदेश सभा १ उम्मेद्धवार बल्देव रेग्मी, बाजुरा जिल्ला पार्टी कार्यालय सचिव तथा प्रदेश सभा समानुपातिक उम्मेद्धवार काशी विकले सयुक्त पत्रकार सम्मेलन गरेका हुन्।

नेकपा एमालेले काँग्रेसबाट बुथ कब्जा गरिएका त्रिवेणी नगरपालिका २, ३, ७ र ८, खप्तड छेडेदह गाउँपालिका २ र ४, बुढीगंगा नगरपालिका ४, ७ र ८ बुढीनन्दा नगरपालिका ५, ७ र ९, हिमाली गाउँपालिका ५ र ६, स्वामिकात्र्तिक खापर गाउँपालिका ३, जगन्नाथ गाउँपालिका २ र ४ गरि १७ वटा वडाको सिंगो मतदान प्रक्रिया रद्द गरि पुन मतदानको मिति तोक्न माग गरेको छ। अन्यथा कुनै प्रक्रिया अघि नबढ्ने चेतवानी दिएको छ।

नेकपा एमालेले बुढीगंगा नगरपालिका ८ को गिरीखेल्ने आधारभुत विद्यालयको मतदान केन्द्रमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा नगर प्रमुख राम बहादुर बाँनियालाई ज्यानमार्ने उद्धेश्यले नेविसंघको कार्यकर्ता योगेन्द्र रावलले टाउकोमा छुरिले प्रहार गरेको घटनाको छावनीन सहीत प्रक्रिया अघि बढाउन माग गरेको छ।

यस्तै त्रिवेणी नगरपालिका ८ को मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ता नरेश थापा, चक्र थापा, तिलक रावल, सुरेश थापा र आकास थापाले एमालेका मतदाता प्रभु गिरीमाथि खुकुरी प्रहार गरिएको घटनाका दोषीलाई पक्राउ गरि कारवाहीको माग गरेको छ।

प्रकाशित: ६ मंसिर २०७९ १३:१६ मंगलबार