राजनीति

गगनको नजरमा सरकारको १०० दिन: बजारले आत्मविश्वास गुमायो, भयको वातावरण सिर्जना भयो

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको सय दिने कार्यकालमा बजारले आत्मविश्वास गुमाएको र निजी क्षेत्रमा भयको वातावरण सिर्जना भएको बताएका छन्।

सरकारका १०० दिनबारे कांग्रेस संयन्त्रद्वारा आयोजित समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले मुलुकमा विदेशी मुद्राको सञ्चिति र बैंकमा तरलता उच्च रहे पनि कर्जा प्रवाह हुन नसक्नु चिन्ताजनक भएको उल्लेख गरे।

सभापति थापाले भने, ‘बैंकमा ब्याजदर घट्दा पनि कसैले कर्जा लिन नचाहनुको मुख्य कारण बजारमा विश्वासको संकट हुनु हो। साना व्यवसायीदेखि ठूला उद्योगीसम्मले अहिले आत्मविश्वास गुमाएका छन्।’

सरकारसँग पाँच वर्षको स्पष्ट जनादेश र अनुकूल वातावरण भए पनि लगानीकर्ताको आत्मविश्वास फर्काउन नसकेको उनको टिप्पणी थियो।

निजी क्षेत्रमाथि भइरहेको कारबाहीको शैलीप्रति बोल्दै उनले आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने कुरामा समर्थन रहे पनि काम गर्ने शैलीले आतंक सिर्जना गरेको सुनाए।

उनले भने, ‘निजी क्षेत्रमा काम गर्ने मान्ने बित्तिकै ठग हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। यसले गर्दा नयाँ व्यवसाय सुरु गर्ने वा बैंकबाट कर्जा लिएर लगानी गर्ने हिम्मत कसैले देखाएका छैनन्।’

संविधान संशोधन र प्रणालीका विषयमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै थापाले हलुका ढंगले संविधानका व्यवस्थाहरू हेरफेर गर्ने चर्चा चलाइएकोमा आपत्ति जनाए।

यस्तै, भूराजनीतिक संवेदनशीलता र परराष्ट्र नीतिको सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुको साटो व्यक्तिगत लोकप्रियता र घरेलु खपतका लागि परराष्ट्र नीति प्रयोग भइरहेको उनले सुनाए।

सभापति थापाले सरकारको १०० दिने कार्यकाललाई विश्लेषण गर्दै पाँचवटा मुख्य प्रवृत्तिहरू औंल्याए। उनका अनुसार सरकारले ‘लाइफ’ भन्दा ‘लाइक’ लाई महत्व दिएको, प्रक्रियालाई लत्याएर परिणाम मात्र खोजेको, आर्थिक क्षेत्रमा आत्मविश्वास जगाउन नसकेको, संविधान र संस्थाहरूको उपेक्षा गरेको तथा परराष्ट्र नीतिलाई घरेलु खपतको माध्यम बनाएको छ।

प्रतिनिधिसभामा कांग्रेस दोस्रो ठूलो दल भए पनि देशको जिम्मेवारी वहन गर्ने सवालमा मुख्य शक्ति भएको उल्लेख गर्दै थापाले सरकारका गलत प्रवृत्तिहरू विरुद्ध निरन्तर प्रश्न उठाउने र रचनात्मक विकल्प प्रस्तुत गर्ने बताए।

प्रकाशित: २१ असार २०८३ १५:१२ आइतबार