फोटो फिचर

बैंककको वैभव

'शहर होस् त यस्तो' भरखरै थाइल्याण्ड भ्रमणमा रहेकी निर्मला श्रेष्ठ बैंककको वैभव देखेर भन्दैथिइन्, 'भुइँमा टेक्दा पनि फोहोर होला झैं लाग्ने।' नेपालबाट उनीस"गै थाइल्याण्ड आएका सात नेपाली विकसित बैंकक देखेर चकित भए। गगनचुम्बी भवन, फराकिला सडक, अद्भूतलाग्दा रेलमार्गले मात्रै होइन, अनुशासित मानिस, सहयोगी व्यवहार र व्यवस्थित शहरीकरणले बैंकक घुम्ने जो कोहीको मन छुन्छ।

राज संस्था कायमै रहेको र राज संस्थाप्रति नागरिकको अटल विश्वास रहेको थाइल्याण्ड दक्षिण पूर्वी एसियाली देश हो। हात्तीको सुँड जस्तो आकारमा फैलिएको थाइल्याण्ड समुद्रसँग जोडिएको छ। एसियाका विकसित मुलुकमध्ये एक मानिने थाइल्याण्ड घुम्ने हरेकले बैंककको वैभव देखेर एकपल्ट जिब्रो टोक्ने गर्छन्।

थाइल्याण्डको झण्डै सात करोड जनसंख्यामध्ये करिब १३ प्रतिशतको बसोबास बैंकक शहरमा छ। ७५ प्रान्तमा फैलिएको थाइल्याण्डको राजधानी बैंकक दक्षिण पूर्वी एसियामा शिक्षा, स्वास्थ्य, व्यापार, उद्योग, कला, संस्कृति आदि क्षेत्रमै 'हब' बन्दैछ। सन् १९६० देखि ८० को बीचमा बैंककले काँचुली फेरेको हो। सन् १९८० देखि थुप्रै बहुराष्ट्रिय कम्पनी र संस्थाले बैंककमा मुख्यालय स्थापना गरेका छन्।

एक हजार ५ सय ६८ स्क्वायर किलोमिटरमा फैलिएको थाइल्याण्डमा वार्षिक १० करोड हाराहारी विदेशी नागरिक पर्यटकका रुपमा घुम्न आउने गर्छन्। पर्यटन यहाँका भरपर्दो आम्दानीको स्रोत हो। ग्यास, पेट्रोल, डिजेल र धान थाइल्याण्डका मुख्य उत्पादन हुन्। 'यौन–पर्यटन'ले पनि थाइल्याण्डको समुन्नतिमा उल्लेख्य योगदान पुर्यानएको छ। यहाँका व्यवस्थित 'रेड लाइट' क्षेत्र संसारभर परिचित छन् ।

२२ देखि ३५ डिग्रीसम्म तापक्रम रहने थाइल्याण्डको विकास अनुभव गर्न बैंकक घुम्नु नै काफी हुन्छ। यहाँ तीन खाले (जमीनमुनि, जमिनको सतहमा र जमिनमाथि) रेल सेवा उपलव्ध छ। सडकमा चिल्ला कार दिनमा मात्रै होइन, रातमा पनि उत्तिकै गुड्छन्। देशको समुन्नतिमा यातायातको महत्व कति हुन्छ भन्ने बुझेर यहाँको सरकारले सडक–सञ्जाल निर्माणमा ठूलो धनराशी खर्चेको व्यवस्थित संरचनाले प्रष्ट्याउँछन् ।

बहुसंख्यक (९३ प्रतिशत) नागरिकले बौद्ध धर्म मान्ने थाइल्याण्डमा साक्षरता प्रतिशत ९० छ। २४ घण्टा व्यस्त रहने सडकसमेत चिल्ला र धुवाँ धुलोरहित छन्। व्यक्तिगत आम्दानीका हिसाबले थाइल्याण्ड नेपालभन्दा निकै माथि छ। स्वदेशमा उत्पादन हुने बस्तु निर्यात गर्दै बहुराष्ट्रिय कम्पनी भित्र्याउन सरकारले जसरी उदारता देखाएको थियो, थाइल्याण्डले आज त्यही प्रतिफलको स्वाद चाख्दैछ।