बेलायतकी एक महिलाले रुघा लागेकै बेला चर्को स्वरमा चिच्याएर विश्व कीर्तिमान बनाएकी छन्। उनको आवाज कारको ठुलो हर्नसँग तुलना गरिएको छ।
बेलायतको सफोकस्थित न्युमार्केटकी ब्रेन्डा विलिसनले १०५.९ डेसिबलको आवाज निकाल्दै विश्वकै सबैभन्दा चर्को स्वरमा चिच्याउने महिलाको कीर्तिमान बनाएकी हुन्। उनले ‘ओयेज’ शब्द चिच्याएकी थिइन्। गिनिज वर्ल्ड रेकर्ड्सले उनको कीर्तिमान पुष्टि गरेको छ।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार उनको आवाज हिउँ हटाउने मेसिन वा नजिकैबाट बजाइएको कारको हर्नजस्तै ठुलो थियो। रोचक कुरा, कीर्तिमान बनाउने बेला आफूलाई रुघा लागेको भन्दै ब्रेन्डाले अझ ठुलो स्वरमा चिच्याउन सक्ने बताएकी थिइन्।
ब्रेन्डा सन् १९८७ देखि टाउन क्रायरका रूपमा काम गर्दै आएकी छन्। टाउन क्रायर भनेको सार्वजनिक स्थानमा ठुलो स्वरमा सूचना वा घोषणा गर्ने व्यक्ति हो। यो पेसामा उनको प्रवेश पनि निकै रोचक छ। उनकी छोरीले उनलाई जानकारी नै नदिई पिटरबरोको टाउन क्रायर पदका लागि आवेदन दिएकी थिइन्।
त्यसपछि ब्रेन्डाले विभिन्न कार्यक्रममा आफ्नो आवाज सुनाउँदै आएकी छन्। उनले बेलायतको बकिङ्घम दरबारमा महारानी एलिजाबेथकी आमाको १००औं जन्मदिनलगायत विभिन्न विशेष अवसरमा टाउन क्रायरको भूमिका निर्वाह गरेकी थिइन्।
विश्व कीर्तिमान बनाएपछि ब्रेन्डाले आफू निकै खुसी भएको बताएकी छन्। उनले कीर्तिमानको प्रमाणपत्र घरमा गर्वका साथ सजाएर राख्ने पनि बताएकी छन्।
प्रकाशित: २१ कार्तिक २०८३ ०८:२१ शनिबार