चीनमा एक १०३ वर्षीया महिलाको निधन भएको छ। उनी आठ दशकभन्दा लामो समय आफ्नो पतिको फर्कने प्रतीक्षा गरेका कारण चर्चामा थिइन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार डु हुझेनको मार्च ८ मा दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा रहेको घरमै मृत्यु भएको हो। उनको परिवारले मृत्युको कारण मृत्युपत्रमा उल्लेख गरेको छैन।
आफ्नो मृत्युअघि उनले आफ्नो हातमा पुरानो सिरानीको खोल बोकेकी थिइन्, जुन उनले सन् १९४० मा विवाह गर्दा प्रयोग गरेकी थिइन्। उनको परिवारले यसबारे जानकारी गराएको हो।
डु आफ्ना श्रीमान् हुआङ जुनफुभन्दा तीन वर्ष जेठी थिइन्। विवाहको छोटो समयपछि नै हुआङ जुनफु कुओमिन्ताङ सेनामा भर्ती भएका थिए। त्यतिबेला चीनमा दोस्रो चीन-जापान युद्ध चलिरहेको थियो र कुओमिन्ताङ सेना जापानविरुद्ध देशभर लडिरहेको थियो।
सन् १९४३ मा छोटो समयका लागि उनी डुलाई भेट्न आए र त्यसैबेला डु गर्भवती भइन्। उनले सन् १९४४ को जनवरीमा आफ्नो छोरा हुआङ फाचाङलाई जन्म दिइन्।
छोरा जन्मेको केही दिनपछि हुआङ जुनफु आफ्नी आमाको अन्त्येष्टिमा भाग लिन घर फर्किए। तर धेरै समय नबित्दै हुआङ जुनफु सेनामा फर्कन घरबाट निस्के र कहिल्यै फर्किएनन्।
उनले पत्रहरू पठाए, अन्तिम पत्र जनवरी १५, १९५२ मा लेखिएको थियो।
‘फचाङको शिक्षाको लागि, परिवार जतिसुकै गरिब भए पनि उसलाई पढाइमा महत्त्व दिनुपर्छ। हाम्रो पुनर्मिलनको लागि निश्चित रूपमा केही समय हुनेछ,’ हुआङले पत्रमा भने।
उनले प्रयोग गरेको कागजले उनी मलेसियाको एक चिनियाँ निर्माण कम्पनीमा काम गरिरहेको संकेत गरेको थियो।
श्रीमानको अनुपस्थितिमा डुले दिनभरि खेतबारीको काम गरेर साँझ परालको चप्पल र कपडा बुनेर परिवारको पालनपोषण गर्थिन्।
उनले विवाहका लागि आउने अन्य सबै प्रस्तावहरूलाई अस्वीकार गरिन्। बिहे गर्न सुझाउनेलाई उनी भन्थिन्, ‘यदि ऊ (हुआङ जुनफु) कुनै दिन फर्कियो भने के हुन्छ?’
‘हजुरआमा निरक्षर हुनुहुन्छ, उहाँले कठिन जीवन बिताउनुभयो। तर उहाँ सधैं आशावादी हुनुहुन्थ्यो,’ डुकी नातिनी हुआङ लियिङले भनिन्।
‘उहाँले मेरो बुबा र हामी भाइबहिनीहरूलाई कडा अध्ययन गर्न र हुर्किएपछि देश र समाजमा योगदान दिन भन्नुहुन्थ्यो,’ नातिनीले थपिन्।
सयौं अन्य आवेदकहरूसँग प्रतिस्पर्धा गरेपछि हुआङ फाचाङ सन् १९७० को दशकको अन्त्यतिर माध्यमिक विद्यालयका शिक्षक बनेका थिए। उनको २०२२ मा मृत्यु भयो। जुनी काउन्टीको सरकारी विभाग, जो विदेशी चिनियाँ मामिलाहरूसँग सम्बन्धित छ, बाट प्राप्त कागजातहरूले देखाए अनुसार हुआङ जुनफु सन् १९५० मा मलेसियामा बसोबास गरेका थिए। त्यसपछि केही वर्षमा नै उनी सिंगापुर सरेका थिए।
अधिकारीहरूले उनको बारेमा थप जानकारी नभएको बताए।
डुको परिवारले हुआङ जुनफुलाई खोज्न पत्रपत्रिकामा सूचना पोस्ट गर्ने र विदेशी एजेन्सीहरूलाई काममा लगाउने जस्ता विभिन्न माध्यमहरू प्रयोग गरेका थिए। तर ती सबै प्रयासहरू व्यर्थ भए।
नातिनी हुआङ लियिङले भनिन्, ‘मृत्यु हुँदा उहाँ शान्त देखिनुहुन्थ्यो, मानौं उहाँले आफ्नो पतिसँग पुनर्मिलनको दर्शन देख्नुभयो।’
उनले हजुरआमाको सपना पूरा गर्न खोजी जारी राख्ने स्पष्ट पारेकी छिन्।
प्रकाशित: ८ पुस २०८२ १३:४७ मंगलबार



