चलचित्रमा जस्तै कृत्रिम बुद्धिमत्ता (एआई) ले सम्बन्ध चलाएको कथा अहिले वास्तविकतामा परिणत भएको दाबीसहित भाइरल हुँदैछ।
सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टका अनुसार एक महिलाले आफ्ना प्रेमीले सम्बन्धका कुराहरू मिलाउन एआई एजेन्ट प्रयोग गरेको थाहा पाएपछि ब्रेकअप गरेकी हुन्।
डेलिया लाजारेस्कु नामक प्रयोगकर्ताले एक्समा यो घटना सार्वजनिक गरेकी हुन्। सुरुमा ती महिलाले आफ्नो प्रेमी अत्यन्तै विचारशील र रोमान्टिक भएको ठानेकी थिइन्। तर पछि प्रेमीले पठाउने सन्देश, भेटघाटको योजना, मायाका कुरा र विवाद समाधान गर्ने प्रयाससमेत एआई प्रणालीमार्फत गराउने गरेको रहस्य खुल्यो।
लाजारेस्कुले लेखेकी छन्, ‘मैले भर्खरै थाहा पाएँ कि मेरो सबैभन्दा मिल्ने साथीले सप्ताहन्तमा आफ्नो प्रेमीसँग ब्रेकअप गरिन्।’ कारण सोध्दा साथीले, ‘मैले थाहा पाएँ कि उसको सम्बन्ध व्यवस्थापन गर्ने एआई एजेन्ट थियो,’ भनी जवाफ दिएको उनले बताइन्। साथै, उनले यस अवस्थालाई प्रेमी आफ्नो कामप्रति मात्र भावनात्मक रूपमा संलग्न भएको रूपमा वर्णन गरिन्।
यद्यपि यस भाइरल पोस्टको आधिकारिक पुष्टि भने हुन सकेको छैन। यो घटना सार्वजनिक भएपछि अनलाइन प्रयोगकर्ताहरूबिच भने चर्को बहस सुरु भएको छ। कसैले यसलाई सुविधाको नयाँ रूप मानेका छन् भने धेरैले भावनासँग खेलबाड भएको भन्दै आलोचना गरेका छन्।
केही प्रयोगकर्ताले प्रेमीलाई आफ्नो रोमान्टिक जिम्मेवारी अरूलाई सुम्पिएको भन्दै खिल्ली उडाएका छन्। एक जनाले, ‘भाइले आफ्नो प्रेम जीवन आउटसोर्स गर्यो,’ भन्दै टिप्पणी गरेका छन्। अर्कोले यसलाई ‘एआई-उत्पन्न स्नेह’ भनेका छन्।
तर अर्को पक्षले भने जीवनका अन्य काममा जस्तै रोमान्टिक काममा पनि प्रविधिको सहायता लिनु गलत नभएको तर्क गरेका छन्। एक प्रयोगकर्ताले प्रश्न गरे, ‘यदि कुनै धनी व्यक्तिले आफ्नो सहयोगीमार्फत फूल पठाउँछ भने त्यो रोमान्टिक हुन्छ। तर एआईले विचारशील सन्देश पठाउँदा चाहिँ नराम्रो कसरी हुन्छ? यो त दोहोरो मापदण्ड भयो।’
आलोचना गर्ने अर्का प्रयोगकर्ताले भने, ‘यो वास्तवमा भयानक छ। उसले भावनात्मक श्रमलाई एल्गोरिदममा आउटसोर्स गर्यो र अझै पनि आफैले गरेको जस्तो श्रेयको अपेक्षा गर्छ? यो मान्नै सकिँदैन।’
यसैबिच, कतिपय प्रयोगकर्ताले अहिले नै धेरै जोडीहरूले फोन कल व्यवस्थित गर्न, मिति तय गर्न र मायाका सन्देश लेख्न एआईको प्रयोग गरिरहेको खुलाएका छन्।
प्रकाशित: २७ श्रावण २०८३ १३:४७ बुधबार



