अन्य

अफिसमै बुढ्यौली लागेको भन्दै कर्मचारीले डेस्कमा किन राख्न थाले छातादेखि ढुंगा ?

अफिसमा लामो समय काम गर्दा छाला बिग्रिएको, आँखा थाकेको र उमेर बढेजस्तो देखिन थालेको भन्दै चीनमा केही कर्मचारीले अनौठा उपाय अपनाउन थालेका छन्।

उनीहरूले डेस्कमै छाता राख्ने, सनस्क्रिन लगाउने, टोपी तथा पूरै अनुहार ढाक्ने मास्क प्रयोग गर्ने गरेका छन्। कर्मचारीले ‘अफिस एजिङ’ भन्दै सामाजिक सञ्जालमा आफ्नो अनुभव र यसबाट बच्ने उपाय साझा गरिरहेका छन्। पूर्वी चीनको जियाङ्सु प्रान्तका एक रेडनोट प्रयोगकर्ताले जागिर सुरु गरेको एक महिनामै आफ्नो अनुहारको रंग गाढा भएको र आँखामा बारम्बार थकान महसुस हुन थालेको बताएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अर्की एक प्रयोगकर्ताले केही समय कामबाट बिदा लिएपछि आफ्नो अनुहार पहिलेभन्दा गोरो देखिएको बताएकी छन्। केहीले भने साझा अफिसमा अरूले गरेको धूमपानको धुवाँका कारण समस्या भएको गुनासो गरेका छन्। त्यसपछि कतिपय कर्मचारीले डेस्कमै छाता राख्नुका साथै अनुहार र हातमा सनस्क्रिन लगाउन थालेका छन्।

लाइटिङ डिजाइनर योकीका अनुसार कर्मचारीलाई सतर्क राख्न र उत्पादकत्व बढाउने उद्देश्यले धेरै अफिसमा चिसो टोनको बत्ती प्रयोग गरिन्छ। तर अफिसको समस्या बत्तीमा मात्र सीमित छैन। सुख्खा हावा, धुलोयुक्त भेन्टिलेसन प्रणाली र कार्बन डाइअक्साइडको उच्च मात्रा लामो समय काम गर्दा शारीरिक असहजता र मानसिक थकान बढाउने कारण बन्न सक्छ।

यस्ता समस्यालाई विश्व स्वास्थ्य संगठनले ‘सिक बिल्डिङ सिन्ड्रोम’सँग जोडेको छ। यसमा टाउको दुख्ने, नाक बन्द हुने, छाला सुख्खा हुने, घाँटीमा जलन, थकान र ध्यान केन्द्रित गर्न कठिन हुनेजस्ता समस्या देखिन सक्छन्।

सामाजिक सञ्जालमा कर्मचारीले लामो समय बसेर काम गर्दा घाँटी अगाडि झुक्ने, काँध गोलो हुने र लगातार निधार खुम्च्याउँदा अनुहारमा रेखा देखिन थालेको समेत बताएका छन्। कतिपयले तनाव कम गर्न खाली मिल्क-टीका कपलाई अस्थायी ह्युमिडिफायरका रूपमा प्रयोग गर्ने तथा डेस्कमा ढुंगा र आँपको बीउजस्ता वस्तु राखेर ‘पाल्तु जनावर’ जस्तै प्रयोग गर्ने गरेका छन्।

यसको पछाडि भने कार्यस्थलको वातावरणसँगै लामो समय काम गर्नुपर्ने समस्या रहेको देखिन्छ। चीनमा औसत साप्ताहिक काम गर्ने समय ४८.२ घण्टा रहेको बताइएको छ, जुन कानुनी रूपमा तोकिएको ४४ घण्टाभन्दा बढी हो। यो प्रवृत्तिलाई स्वास्थ्य र रूप रंगको चिन्तासँगै काम गर्ने वातावरण र अत्याधिक कार्य घण्टाप्रतिको बढ्दो असन्तुष्टिसँग जोडेर समेत हेरिएको छ।

प्रकाशित: १७ भाद्र २०८३ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App