अन्य

जब नयाँ आईफोन लिन ५३ वटा फोन बोकेर एप्पल स्टोर पुगे ‘क्रेजी’ फ्यान...

दुबईका एक एप्पल फ्यान नयाँ फोन लिन शुक्रबार एप्पल स्टोर पुग्दा ५३ वटा आईफोन पनि सँगै लिएर गए। 

पहिलो पुस्ताको आईफोनदेखि आईफोन १८ प्रो म्याक्ससम्मका फोन संकलन गरेका मोहम्मद शाका नयाँ फोल्डेबल फोन ‘एप्पल डुओ’ लिन स्टोर पुगेका थिए।

करिब दुई दशकदेखि आईफोन संकलन गर्दै आएका शाकालाई एप्पलका कर्मचारीले अघिल्लो दिन फोन गरेर आफ्नो संकलन पनि स्टोरमा ल्याउन आग्रह गरेका थिए। त्यसपछि उनी आफूले संकलन गरेका ५३ वटा आईफोन लिएर स्टोर पुगेका हुन्। उनी नयाँ एप्पल डुओका दुई वटा फोन लिन त्यहाँ पुगेका थिए।

खलिज टाइम्सका अनुसार शाकाका लागि आईफोन संकलन गर्नु पुराना फोन जम्मा गर्नु मात्रै होइन, व्यक्तिगत चुनौती पनि हो। उनले पहिलो पुस्तादेखि नयाँ मोडेलसम्मका फोन संकलन गरेका छन्। केही मोडेलका फरक रङका फोनसमेत उनीसँग छन्। उनले ती फोन घरमा सजाएर राखेका छन्।

‘आईफोन संकलन गर्नु मेरो शौक हो। यो मेरा लागि चुनौती पनि हो। मसँग पहिलो पुस्तादेखि आईफोन १८ प्रो म्याक्ससम्मका लगभग सबै मोडेल छन्। केही मोडेलका फरक रङका फोन पनि छन्। म तिनलाई घरमा सजाएर राख्छु,’ शाकाले भने।

मोटोरोला र सामसुङजस्ता अन्य ब्रान्डका फोन पनि आफूसँग भए पनि मुख्य रुचि एप्पलमै रहेको उनले बताए। प्रत्येक नयाँ पुस्ताका आईफोनमा क्यामेरा, ब्याट्री, टच प्रविधि र अपरेटिङ सिस्टममा हुने परिवर्तनले आफूलाई आकर्षित गर्ने उनको भनाइ छ।

पाकिस्तानी मूलका शाका तीन वर्षभन्दा बढी समयदेखि एप्पलको फोल्डेबल फोनबारेका चर्चाहरू पछ्याइरहेका थिए। फोनको बुकिङ खुलेपछि आफूले पनि बुक गर्ने अवसर पाएको र लामो प्रतीक्षापछि नयाँ फोन लिन पाउँदा खुसी लागेको उनले बताए।

नयाँ फोन लिनु उनका लागि अर्को उपलब्धि पनि बनेको छ। लगातार तीन वर्षदेखि एप्पलका प्रमुख फोन सार्वजनिक हुने समयमा स्टोरमा पहिलो ग्राहक बन्ने व्यक्तिमध्ये आफू पर्दै आएको उनले बताए।

‘पछिल्ला तीन वर्षदेखि लगातार यस्तो भइरहेको छ। यसपटक मेरो ह्याट्रिक पूरा भएको छ। अब अरूले पनि अवसर पाउन् भन्ने चाहन्छु। मैले आफूले चाहेको काम गरिसकेको छु र अरूलाई निराश बनाउन चाहन्नँ,’ उनले भने।

अब शाकाको लक्ष्य दुबईको एप्पल स्टोरमा पहिलो हुनुमा मात्रै सीमित छैन। उनी एप्पलको नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रममा सहभागी हुन अमेरिकाको क्यालिफोर्निया जान चाहन्छन्। त्यहाँ पनि पहिलो बन्ने र आईफोनप्रतिको आफ्नो लगाव देखाउने उनको चाहना छ।

‘म एप्पलको अर्को उत्पादन सार्वजनिक हुने कार्यक्रममा सहभागी हुन क्यालिफोर्निया जान चाहन्छु र त्यहाँ पनि पहिलो हुन चाहन्छु। म आफ्नो प्रतिनिधित्व गर्न र आईफोनप्रतिको मेरो लगाव कति टाढासम्म पुगेको छ भन्ने देखाउन चाहन्छु,’ उनी भन्छन्।

प्रकाशित: ७ कार्तिक २०८३ १२:५४ शनिबार