अन्य

ट्रम्पकी १९ वर्षीया नातिनीको खुलासा : तीन दिनसम्म खाना खाइनँ

तस्बिर : काई ट्रम्प/इन्स्टाग्राम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी १९ वर्षीया नातिनी काई ट्रम्पले कलेज जीवन सुरु गर्दाको आफ्नो अनुभव साझा गरेकी छन्।

उनले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेको भिडियोमा घर छाडेर कलेज जानुपर्दा भावुक भएकोदेखि पहिलो सातामै बिरामी परेकोसम्मका अनुभव सुनाएकी हुन्। काई फ्लोरिडास्थित युनिभर्सिटी अफ मियामीको महिला गल्फ टोलीमा आबद्ध भएकी छन्।

कलेज जानुअघि उनले फ्लोरिडाकै ज्युपिटरमा परिवार र साथीहरूसँग बिताएका अन्तिम दिनका दृश्य पनि भिडियोमा राखेकी छन्। गल्फ खेलेर घर फर्किने क्रममा उनले परिवार र पुरानो दिनचर्या छाडेर नयाँ ठाउँमा जानुपर्दाको भावनाबारे बताएकी हुन्।

‘म शाब्दिक रूपमा रोइरहेकी छु। आज सबैलाई बिदाइ गर्नुपर्दा साँच्चै दुःख लागेको छ। म खासै भावुक हुने मान्छे होइन, त्यसैले यसरी रुनु मेरा लागि अनौठो पनि भइरहेको छ। अहिले यसबारे सोच्दा गाह्रो भइरहेको छ, तर म उत्साहित पनि छु,’ उनले भनेकी छन्।

मियामी पुगेपछि उनकी मिल्ने साथी एम्माले सामान सार्न सहयोग गरेकी थिइन्। व्यस्तताका कारण काईले खाना खान नपाएको थाहा पाएपछि एम्माले उनका लागि केही खानेकुरा पनि ल्याइदिएकी थिइन्।

त्यस क्रममा काईले आफूले तीन दिनसम्म केही नखाएको बताएकी छन्।

‘एम्माले मलाई जमेको खानेकुरा ल्याइदिइन्, किनकि मैले तीन दिनदेखि केही खाएकी थिइनँ,’ उनले भिडियोमा भनेकी छन्।

कलेजका कक्षा सुरु भएपछि काईको दिनचर्या झनै व्यस्त बन्यो। बिहानैदेखि गल्फ टोलीका अभ्यास र बैठकमा सहभागी हुनुपर्ने भएकाले आफू निकै थाकेको उनले सुनाइन्। कलेज सुरु भएको पहिलो सोमबार नै बिहान ७ बजे टोलीको बैठक रहेको उनले उल्लेख गरेकी छन्।

‘मेरो अनुहार हेरेरै पनि म कति थाकेकी छु भन्ने थाहा पाउन सक्नुहुन्छ,’ उनले भनेकी छन्।

भिडियोमा काईले युनिभर्सिटी अफ मियामीको महिला गल्फ टोलीबाट पाएको पोसाक, गल्फका सामग्री र टोलीसँगको पहिलो अभ्यासका दृश्य पनि देखाएकी छन्। तर कलेजको पहिलो साता नै उनको स्वास्थ्यमा समस्या देखिएको थियो। काईका अनुसार कक्षा सुरु भएको केही दिनमै उनलाई स्ट्रेप थ्रोट भएको थियो।

‘कलेजको पहिलो साताको बुधबार मलाई स्ट्रेप थ्रोट भयो,’ उनले भनेकी छन्। बिरामी भएपछि उनी उपचार र आरामका लागि ज्युपिटरस्थित घर फर्किएकी थिइन्।

‘म निकै बिरामी भएकाले ज्युपिटर नै फर्किएँ। आमाले मेरो हेरचाह गरेर मलाई निको पार्नुपर्ने अवस्था थियो,’ उनले भनेकी छन्।

काई सामाजिक सञ्जालमा निकै लोकप्रिय छन्। उनीसँग विभिन्न सामाजिक सञ्जालमा गरी ९२ लाखभन्दा बढी फलोअर छन्। टिकटकमा ३७ लाख, इन्स्टाग्राममा ३१ लाख, युट्युबमा १५ लाखभन्दा बढी सब्सक्राइबर र एक्समा करिब ९ लाख फलोअर छन्। 

उनले सामाजिक सञ्जालमा गल्फ, कलेज जीवन, दैनिक गतिविधि र पर्दापछिका दृश्यसम्बन्धी सामग्री सार्वजनिक गर्दै आएकी छन्। यसले उनलाई ट्रम्प परिवारकी सदस्यका रूपमा मात्र नभई युवा पुस्तामाझ लोकप्रिय जीवनशैली तथा खेलकुदसम्बन्धी सामग्री निर्माता पनि बनाएको छ।

काई डोनाल्ड ट्रम्प जुनियर र उनकी पूर्वपत्नी भेनेसा ट्रम्पकी जेठी छोरी हुन्।

प्रकाशित: १८ भाद्र २०८३ ०९:५४ बिहीबार