अन्य

आज नोभेम्बर २७ः एक युगको स्मरण, एक दुःखद वार्षिकी

आज नोभेम्बर २७ विश्व इतिहासमा दुई विपरीत घटनाहरूको स्मरणको दिन रहेको छ। एकातर्फ महान मार्सल आर्टिस्ट ब्रुस ली को जन्मदिन परेको छ भने अर्कोतर्फ अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूज को असामयिक निधनको वार्षिकी पनि।          

ब्रुस ली सन् १९४० मा जन्मिएका हङकङ अमेरिकी मार्सल आर्टिस्ट तथा अभिनेता, फिल्म निर्देशक र दार्शनिकको आज ८५ औं जन्मदिन परेको छ। ब्रुस लीलाई २० औं शताब्दीका सबैभन्दा प्रभावशाली व्यक्तित्व मध्ये एक मानिन्छ। उनले एसियाली मार्सल आट्र्सलाई पश्चिमी दर्शकहरूमाझ पु¥याएर विश्वव्यापी ‘एक्शन’ फिल्म विधालाई नयाँ स्वरुप दिएका थिए। उनको व्यक्तिगत दर्शनमा आधारित मार्सल आट्र्सको शैली ‘जीत कुन दो’ ले कुनै निश्चित शैलीमा नबाँधिएर स्वतन्त्रतापूर्वक लड्ने दर्शनलाई स्थापित गरेको थियो।    

उनका फिल्महरू ‘फिस्ट अफ फ्युरी’ ,‘द वे अफ द ड्र्यागन’ , र विशेष गरी ‘इन्टर द ड्र्यागन’ ले उनलाई विश्वव्यापी आइकन  बनाएको थियो । तर उनको  ३२ वर्षको उमेरमा नै  निधन हुन पुगेको थियो । आज पनि उनी मार्सल आट्र्स मार्फत  लाखौंलाई प्रेरणा दिने व्यक्ति बनिरहेका छन्।    

त्यसैगरी आज नोभेम्बर २७ कै दिन अस्ट्रेलियाका युवा  क्रिकेटर फिलिप ह्यूजको निधन भएको  थियो ।  सन् २०१४ को दिन क्रिकेट मैदानमा लागेको  चोटका कारण उनको निधन भएको थियो।      

नोभेम्बर २५, २०१४ मा सिड्नी क्रिकेट ग्राउन्ड मा घरेलु शेफिल्ड शिल्ड  म्याचमा ब्याटिङ गरिरहेका बेला बाउंसर बल उनको घाँटीमा लागेको थियो । उक्त बलको प्रहारपछि  उनी अचेत भएका थिए। उपचारका क्रममा दुई दिनपछि नोभेम्बर २७ मा २५ वर्षको उमेरमा उनको निधन भएको थियो।    

उनले २० वर्षको उमेरमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । सबैभन्दा कम उमेरमा टेस्टको दुवै इनिङ्समा शतक बनाउने अस्ट्रेलियाली खेलाडीको कीर्तिमान कायम गरेका थिए। उनले  पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय  म्याचमा शतक बनाउने पहिलो अस्ट्रेलियाली खेलाडीको कीर्तिमान पनि राखेका थिए।  

उनको अन्तिम स्कोरलाई ६३ नट आउटको रूपमा सम्मान दिइएको छ। जुन क्रिकेट जगतमा त्याग र सम्मानको प्रतीक बनेको छ। एजेन्सी

प्रकाशित: ११ मंसिर २०८२ ०७:३० बिहीबार