अन्य

एउटै पुरुषलाई आफ्नो पति दाबी गर्दै विमानस्थलमै तीन महिलाबिच कुटाकुट!

बंगलादेशको राजधानी ढाकास्थित शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट फर्किएका एक पुरुषलाई स्वागत गर्न पुगेका तीन महिलाबिच झगडा भएको छ।

तीनै महिलाले ती पुरुषलाई आफ्नो पति भएको दाबी गरेपछि विमानस्थलमै विवाद चर्किएको हो।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा तीन महिलाले ती पुरुषलाई घेरेर आफ्नो पति भन्दै आफूसँगै घर लैजान खोजेको देखिन्छ। उनीहरूबिच सुरु भएको विवाद चर्किँदै गएपछि गालीगलौज र हात हालाहालसमेत भएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार तीनै जना महिला ती पुरुषलाई लिन विमानस्थल पुगेका थिए। तर, पुरुष विमानस्थलबाट बाहिर निस्किएपछि कसले उनलाई घर लैजाने भन्ने विषयमा उनीहरूबिच विवाद सुरु भएको थियो।

भिडियोमा महिलाहरूले एकअर्कासँग चर्को स्वरमा बहस गरेको, आफ्नो दाबी प्रस्तुत गरेको र ती पुरुषलाई आफूसँगै लैजान खोजेको देखिन्छ। विवादका क्रममा एक महिला भावुक हुँदै रुन थालेकी थिइन् भने अन्य महिलाले पनि आफ्नो अधिकार दाबी गर्दै चर्को स्वरमा बोलेका थिए।

सो घटनाले विमानस्थलमा ठुलो भीड जम्मा भएको थियो। विवाद थप चर्किएपछि विमानस्थलका सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए। उनीहरूले महिलाहरूलाई छुटाएर अवस्था नियन्त्रणमा लिने प्रयास गरेका थिए।

यद्यपि, ती पुरुष र तीन महिलाको पहिचान सार्वजनिक गरिएको छैन। ती महिलाहरू वास्तवमै ती पुरुषका पत्नी हुन् भन्ने कुराको पनि स्वतन्त्र पुष्टि भएको छैन। तीन महिलाबिच विवाद हुनुको वास्तविक कारणसमेत खुलेको छैन।

यो पारिवारिक वा वैवाहिक असमझदारीका कारण भएको हो वा अन्य कुनै कारणले भन्ने स्पष्ट भएको छैन।

भिडियो सामाजिक सञ्जालमा फैलिँदै जाँदा प्रयोगकर्ताहरूले यस घटनालाई लिएर रमाइला प्रतिक्रिया दिएका छन्।

एक प्रयोगकर्ताले ‘यी पुरुषमा त्यस्तो के छ होला?’ भन्दै प्रश्न गरेका छन्। अर्का प्रयोगकर्ताले ‘तीनै जना एकै दिन विमानस्थल पुग्नु कसरी सम्भव भयो?’ भन्दै आश्चर्य व्यक्त गरेका छन्।

त्यस्तै, एक प्रयोगकर्ताले ‘चौथी महिला भने विमानस्थल पुग्ने मिति नै छुटाएर बसिछन्’ भन्दै व्यंग्य गरेका छन्।

अर्का एक जनाले भने ‘म कुनै पुरुषका लागि अरूसँग झगडा गर्दिनँ। उसलाई चार महिला चाहिन्छ भने म पनि चार पुरुष खोज्छु र सबै मिलेर बस्छौँ’ भन्दै ठट्टा गरेकी छन्।

केही प्रयोगकर्ताले ती पुरुषको मलेसियामै पनि अर्की पत्नी हुन सक्ने अनुमान गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ १३:२७ आइतबार